Logo
७ जेष्ठ २०८२, मंगलबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्सलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई कारबाही तयारी

काठमाडौँ : ‘कुनै पनि श्रमिकले मर्यादित जीवन जिउन पाउनुपर्छ, उनीहरुलाई न्यूनतम भन्दा कम तलब दिइएको खण्डमा सरकारले त्यस्ता संस्थाहरुलाई कारबाही गर्नेछ।’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट भने।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले हरेक संस्था वा प्रतिष्ठानले कर्मचारीलाई तलब भुक्तानी गरेको वा नगरेको पत्ता लगाएर कारवाही प्रकृया अगाडि बढाउने बताएका हुन्।

अस्पतालका कर्मचारीद्वारा न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढिरहेको भन्दै मन्त्री विष्टले उक्त समस्यालाई समाधान गर्नका लागि डेढ महिना भित्र सबै अस्पतालमा श्रम अडिट गराउने प्रतिवद्धता जनाएका छन्।

‘न्यूनतम पारिश्रमिक नदिने निजी तथा सरकारी अस्पताललाई कारबाहीको दायरामा ल्याउने छौँ, काठमाडौँका ठुल्ठूला नाम चलेको अस्पतालहरुले नर्सहरुलाई तलब नदिने गरेको पाइएको छ,’ मन्त्री विष्टले भने,‘तर अब त्यसो हुनेवाला छैन, सबैले न्यूनतम परिश्रमिक पाउने छन्।’

आफ्नो भावनालाई सिमित राखेर विरामी असक्त, असहायहरुको सेवामा नर्सहरुले जीवन समर्पित गर्ने गरेको उनले बताए। विरामीका लागि मात्र नभएर उनीहरुले मानव जातिमा नै महत्वपूर्ण भूमिका खेलिरहेका छन्। विरामीको सेवामा जीवन समर्पण गरिरहेका नर्सहरुले विभिन्न समस्या झेल्नु परेको उनले बताए। उनले भने,‘तपाईहरुको समस्यालाई सरकारले गम्भीर रुपमा सोच्नु पर्ने अवस्था आएको छ।’

यतिमात्रै नभएर पाइलट, डाक्टर, इन्जिनियर लगायत बौद्धिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको पनि न्यूनतम पारिश्रमिक तोक्न सरकारले तयारी गरिरहेको मन्त्री विष्टले जानकारी दिए।

नर्सिङ क्षेत्रमा काम लगाएर तलब नदिने संस्थाहरुलाई तथ्यसहित श्रम मन्त्रालयमा उजुरी दिन मन्त्री विष्टले आग्रह गरेका छन्।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पाख्रेलले स्वास्थ्य सेवाको पहुँचमा सुधार हुँदै गइरहेको बताएकी छिन। उनले भनिन्,‘पछिल्लो समय सरकारले सानै उमेरदेखि बालबालिकालाई स्वास्थ्यको बारेमा सचेत बनाउने हेतुले स्कूलमा हेल्थ नर्स सुरु गरेको छ।’

तर नर्सहरुको श्रम शोषण भइरहेको उनले बताइन्। विभिन्न अस्पतालहरुले भोलेन्टेरिङ भनेर नर्सहरुलाई ट्रेनी भनेर राख्ने गरेको पाइएको छ। पोख्रेलले भनिन्,‘पिएलसीदेखि व्याच्लरसम्म नर्सिङ पढ्दा २० लाख लाग्छ, तर उनीहरुलाई केही अस्पतालले ट्रेनी भनेर राख्ने त कही ५ हजार तलव दिने गरेका छन्।’

एक दिनमा ८ जना विरामी हेर्नु पर्ने नर्सले ८० जना विरामी हेरिरहेका छन्। पोख्रेलका अनुसार एक जना नर्सले आईसियूमा एक जना विरामी मात्र हेर्नु पर्छ र लेवरको लागि २ जना नर्सले एक जना विरामी हेर्नु पर्छ। उनले भनिन्, ‘तर यहाँ एक जना नर्सले आईसियूमा ८ जना विरामी हेर्नु परेको छ र लेवरमा पनि हाल उस्तै छ।’

यस्तै संघले विपद व्यवस्थापन नर्स तयार गरेको पोख्रेलले बताइन्।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्