चक्रवात ‘फानी’ ओडिशा नजिक पुग्दै, नेपालमा पनि प्रभाव पार्न सक्ने
काठमाडौं : बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशा नजिक पुग्दै छ । आँधी करिब २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।
आँधीको प्रभावले ओडिशा क्षेत्रमा वर्षा हुन थालिसकेको छ। भारतीय मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेदेखि १२ बजेसम्म फानी ओडिशाको तटमा ल्यान्डफल हुनेछ । ओडिशा सरकारले मानवीय क्षती नहोस भनेर तटीय इलाकाका ११ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ ।
तुफान तटसम्म आउँदा १७५ देखि १८५ किलोमिटर प्रतिघण्टाको वेगमा हुन सक्ने र समुद्रमा डेढ मिटरसम्मको लहर उठ्न सक्ने अनुमान गरिएको छ । आँधीका कारण पुरीसहित अन्य क्षेत्रमा २४ घण्टासम्म धेरै वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । उद्दार तथा बचाउ कार्यका लागि नेशनल डिजास्टर रेस्पोन्स फोर्स र ओडिशा डिजास्टर र्यापिड एक्शन फोर्स तैनाथ गरिएको छ ।
यसको प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ । सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।
‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’- महाशाखाद्धारा विहिवार साँझ जारी विज्ञप्तीमा उल्लेख छ । हिमाली भेगमा हल्का हिमपात हुने र आइतवारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ ।