Logo
३१ भाद्र २०८१, सोमबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूँजीगत लाभकरको विवादपछि न्याय माग्दै एनसेल अन्तर्राष्ट्रिय निकायमा

पूँजीगत लाभकरबारे विवादका बीच एनसेलले मध्यस्तताका लागि अनुरोध गर्दै इन्टरनेसनल सेन्टर फर द सेटल मेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स (आईसीएसआईडी) लाई गुहारेको छ । ठूला कर दाता कार्यालयले ७ दिनभित्र ३९ अर्ब रुपैँया पूँजीगत लाभकर तिर्न पत्रचार गरेपछि एनसेलले आफूमाथि अन्याय भएको भन्दै गत वैशाख ११ गते (अप्रिल २४) का दिन आईसीएसआइडीलाई गुहार्न पुगेको हो ।

यद्यपि, यो कर निर्धारण रकम न्यायसंगत नभएको भन्दै दायर गरिएको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले तत्काललाई कर नउठाउन अन्तरकालीन आदेश दिइसकेको छ । इन्टरनेसनल सेन्टर फर द सेटल मेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट्स विश्व बैंकको लगानीमा स्थापित भएको एउटा निकाय हो । यसले अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवादहरु समाधान गर्ने काम गर्छ ।

एनसेलले यसबारे सरकारलाई समेत पत्र लेख्दै जानकारी गराएको छ । यसबारे परराष्ट्र मन्त्रालाय, अर्थ मन्त्रलाय, ठूला कर दाता कार्यालय, रजिस्टार कार्यालय, महान्यायधिवक्ताको कार्यालाय, दुरसञ्चार प्राधिरण लगायतका निकायहरुलाई पनि बोधार्थ पनि पठाइएको छ ।

संयुक्त राज्य र नेपालबीच सन् १९९३ मार्च २ मा भएको द्विपक्षीय लगानी प्रबद्र्धन तथा संरक्षण सम्झौता (बीआईटी) अनुसार मध्यस्तताका लागि आईसीएसआइडीलाई अनुरोध गरेको पत्रमा उल्लेख गरिएको छ । एनसेलले मध्यस्तताका लागि गुहारेको जानकारी दिँदै पठाएको पत्रमा भनिएको छ, ‘नेपालले बीआईटीको प्रावधानलाई उल्लंघन गर्दै आजियाटा युके र एनसेलमाथि निरन्तररुपमा क्षति पुर्याएको र क्षति पुर्याउन जारी राखेको कारण मध्यस्तताका लागि अनुरोध गरिएको हो ।’

सेयर बिक्रीका क्रममा एनसेल र आजियाटाले पूँजीगत लाभ हासिल नगरे पनि नेपालका विभिन्न निकायहरुले बीआईटीको उल्लंघन गर्दै आफूहरुबाट एकपक्षीय रुपमा पूँजीगत लाभकर उठाउन दबाब दिइरहेको एनसेलले जनाएको छ ।

‘पूँजीगत लाभकरबारे विवादलाई मैत्रीपूर्णरुपमा समाधान गर्न सरकारलाई यसअघि दुई पटक सन् २०१७ अप्रिल २८ र २०१७ जुलाई १७ मा पत्र लेखिए पनि पछिल्लो समय गत अप्रिल ९ सर्वोच्च अदालतको आदेश र ठूला करदाता कार्यालयले ७ दिनभित्र ३९ अर्ब कर तिर्न पत्राचार गरेपछि हामीसँग मध्यस्तताको कार्यवाही अगाडि बढाउन बाहेक अन्य कुनै विकल्प रहेन,’ एनसेलको पत्रमा भनिएको छ ।

आजियाटा युके र एनसेल प्रालिको प्रतिनिधित्व गर्दै हर्बट स्मिथ फ्रिहिल्सले पठाएको पत्रमा आर्बिट्रेसनमा गएपछि अन्तर्राष्ट्रिय कानुनअनुसार नेपाल सरकार र नेपाल सरकारका निकायहरुलाई आजियाटा युके एनसेलमाथि थप कारवाही गर्न बन्देज हुने पनि स्मरण गराइएको छ ।

 

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्