कामपाद्वारा खुलामञ्चका ४० सटर भत्काउन डोजर परिचालन
काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएको पसलमा डोजर चलाउने निर्णय गरेको छ ।
खुलामञ्च अतिक्रमण गरेर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि कामपाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको हो ।
महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि डोजर लिएर आफूहरु खुलामञ्चतर्फ लागेको जानकारी दिए ।महानगरपालिकाले डोजर चलाउने निर्णय गरेलगत्तै शनिबार दिउँसोदेखि महानगरीय प्रहरी पठाएर खुलामञ्चमा निर्माण गरिएका सटर भत्काउन लागिएको सापकोटाले बताए ।
महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।
खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको छ । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ ।