पुटिनसगँको भेटवार्ताका लागि रेल चढेर रुस पुगे किम, गरियो भव्य स्वागत
उत्तर कोरियाका शीर्ष नेता किम जोंग उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो भेटवार्ता भएको छ । किम बुधबार ट्रेनबाट रुस पुगे । दुई नेताबीचको यो भेट रुसको बन्दरगाह शहर व्लादिवोस्ताक नजिकैको रस्की द्वीपमा भइरहेको छ ।
रुसका अनुसार दुई नेताबीच कोरियाली प्रायद्वीपको परमाणु समस्यामाथि चर्चा हुनेछ तर अमेरिकासँग वार्ता विफल भएपछि किम रुससँग सहयोगको माग गर्नसक्ने धेरैले अनुमान गरेका छन् । किम र पुटिनबीच यो भेट एक क्याम्पसमा भयो । उक्त क्याम्पसका कक्षा रद्द गरियो तर केही उत्सुक विद्यार्थी दुई नेतालाई हेर्नका लागि सम्मेलन स्थलमा जम्मा भए ।
किम र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच यसैवर्षको सुरुवातमा भियतनामको राजधानी हनोईमा भेट भएको थियो जसमा उत्तर कोरियाको परमाणु हतियार कार्यक्रममा चर्चा भएको थियो । यद्यपी, दुई नेताबीच भएको यो दोस्रो सम्मेलन कुनै सम्झौता बिना नै टुङ्गियो । रुस पुगेपछि उत्तर कोरियाली नेताले रुसका अधिकारीसँग निकै उत्साहित भएर भेटे ।
रुसले किमलाई ब्यान्डसहित स्वागत गरे । त्यसपछि किमलाई कारमा राखेर लगे ।
यसअघि किमले रुसी टेलिभिजनसँग भनेका थिए, ‘आशा गर्छौं कि यात्रा सफल हुनेछ र म आदरणीय राष्ट्रपति पुटिनसँग कोरियाली प्रायद्वीपको स्थितीसँग जोडिएका मुद्दा र दुई देशको सम्बन्धलाई बलियो बनाउन कुनै ठोस् चर्चा गर्न सक्नेछु ।’