Logo
२७ भाद्र २०८१, बिहीबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिषादीको प्रयोगले गर्दा गिद्ध लोप हुने अवस्थामा

इलाम :  करिब डेढ दशकअघिसम्म गाउँघर वरपर सयौँको संख्यामा सिनोमा लुछाचुडी गर्र्दै गरेको गिद्ध भेटिन्थे। तर, ती दृश्य अहिले दुर्लभ भएका छन्।

एक वर्षअघि सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सी नजिकै ८ वटा गिद्ध मृत भेटिए। जंगली जनावर चितुवा, बँदेल र स्याल मार्न सिनोमा विषादी लगाएर जंगल छेउमा राख्ने गरेकाले त्यही सिनो खाँदा गिद्धले मरेको गाउँपालिका उदयबहादुर राईले बताउँछन्। गिद्ध लोप हुँदै गएपछि गाउँपालिकाले सबै वडामार्फत विषादी प्रयोग गरेको सिनो नफ्याक्न आग्रह गरेको छ। मरेका जनावरको सिनो खाई प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राख्ने प्राकृतिक कुचीकार गिद्धले विभिन्न महामारी हैजा, झाडापखला, रेबिज, प्लेग, एन्थ्राक्सजस्ता रोग फैलन रोक्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

डेढ दशकअघिसम्म दक्षिण एसियामा करोडौँको संख्यामा र नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध पछिल्लो समय केही हजारमा मात्र सीमित हुन पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को प्रतिवेदनमा उल्लेख छ।

विश्वमा २३ प्रकारका गिद्ध पाइन्छन्। जसमध्ये दक्षिण एसियामा पाइने ९ प्रजातिका गिद्धहरू नेपालमा समेत पाइन्छन्। तीमध्ये ६ प्रजातिका गिद्धहरू नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी हिउँदे आगन्तुकको रूपमा आउने गरेको विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ।

एउटै सिनो र बासस्थानलाई सामूहिक उपयोग गर्ने विभिन्न प्रजातिका गिद्धहरू मानव बस्ती वरपर अग्ला, बलिया रुख र पहराहरूमा गुँड बनाई बस्छन्। भारतमा सन् १९९२ देखि २००७ सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९९.७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको आइयुसिएनले जनाएको छ।

नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको छ । यसरी गिद्धको संख्या अप्राकृतिक रूपमा घटेकाले आइयुसिएनले नेपालमा पाइने सानो खैरो, डंगर, लामो ठुँडे र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ।

अतिसङ्ककटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत रहने संरक्षणकर्मी धनबहादुर खाम्दाक बताउँछन्। इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २५ सय मिटरमाथि गिद्ध बेलाबेला देखा पर्ने गरेको छ।

बेलाबेला देखिने गिद्धको बासस्थान, खानपान र संरक्षणबारे अहिलेसम्म कुनै कार्यक्रम भएका छैनन्। गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज नभएको जिल्लामा जिल्ला वन कार्यालयलाई संरक्षणको जिम्मा दिए पनि वार्षिक कार्यक्रम नभएको डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले बताए।

डाइक्लोफेनेकको प्रयोगले लोप

सन् १९९० को मध्यदेखि नेपाल, भारत र पाकिस्तानमा गिद्धहरूको संख्यामा अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो। डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा मरेमा डाइक्लोफेनेकको विषाक्तपन सिनो खाने गिद्धको शरीरमा सर्दछ। जसले रगतमा युरिक एसिडको मात्रा बढाई भिसरल गराउँछ र मृगौलाले ‘युरिक एसिड’ छान्न नसकी गिद्ध केही दिनमै मर्छ।

३० एमएल एक भाएल डाइक्लोफेनेक प्रयोग गरिएको एउटै सिनोबाट मात्र पनि ३५० देखि ८०० गिद्धहरू मर्ने गरेका छन्। नेपाल सरकारले सन् २००६ जुन देखि डाइक्लोफेनेकको उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। यसको सट्टा हानिरहित बैकल्पिक औषधि मेलोक्सिकेमको प्रयोगलाई प्रोत्साहन गरिएको छ।

पछिल्लो समय इलामसहित देशका ४८ जिल्लालाई डाइक्लोफेनेकमुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ। नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९ देखि २०१३ सम्म’ को सफल कार्यान्वयनपछि नयाँ कार्ययोजना (सन २०१५–२०१९) कार्यान्वयन भइरहेको छ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्