बारा-पर्सा आँधी : नेपालकाे सन्दर्भमा पहिलो ‘एक्सट्रिम केस’
काठमाडौँ : आइतबार आएको विनाशकारी आँधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जिल्ला जाने भएको छ ।
सानो क्षेत्रमा मात्रै विनाश गर्ने गरी आएको आँधीहुरी असामान्य रहेकाले यस विषयको अध्ययन गर्न मौसमविद्को टोली त्यता जाने महाशाखाका मौसमविद् विभूति पोखरेलले बताए । आइतबारको आँधीहुरी नेपालका सन्दर्भमा पहिलो ‘एक्सट्रिम केस’९चरम स्थिति० भएको मौसमविद्को भनाइ छ ।
सानो क्षेत्रमा मात्र यो प्रणाली विकास भएकाले पनि बढी क्षति भएको बताइएको छ । प्रिमनसुनका समयमा मेघगर्जन, चट्याङ र वर्षासँगै हावासमेत चल्ने प्रक्रिया प्रायः सँधै हुने गर्छ । आइतबार साँझ भने एक्कासि आएको आँधीलाई हावाहुरी भन्न नमिल्ने मौसमविद् पोखरेलले बताए । अध्ययन र अनुसन्धानपछि मात्र व्याख्या र विश्लेषण गरिने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
यसको अनुसन्धानका लागि आँधी प्रभावित क्षेत्रमा अवलोकनका लागि मौसम विज्ञानको टोली बुधबार त्यसतर्फ जाने भएको हो । टोलीमा वरिष्ठ मौसमविद् सुजन सुवेदी, अर्चना श्रेष्ठ तथा सहायक मौसमविद् गोविन्द झा हुनेछन् । टोलीको अध्ययन र अनुसन्धानपछि प्रतिवेदनका आधारमा थप अध्ययन गरिने बताइएको छ । आँधीमा परी हालसम्म २८ जनाले ज्यान गुमाएको र ३८४ जना घाइते भएको थाहा भएको छ ।