Logo
९ श्रावण २०८१, बुधबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँका यी ९ स्थानहरूमा छन् तत्काल आकाशे पुलको आवश्यक्ता

काठमाडौँ :  काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल ९ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा आवतजावत गर्न समस्या भएको भन्दै तत्काल ९ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो ।

नयाँबानेश्वर, पुतलीसडक, केशरमहल, कालिमाटी चोक, थापाथली चोक, कोटेश्वर चोक, चावहिल, गौशाला चोक र नारायणगोपाल चोकमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो । यस्तै, लैनचौर, त्रिपुरेश्वर चोक, बालाजु चोक, माइतीघर, शङ्करदेव, बसुन्धरा चोक, ल्होत्से चोक, स्वयम्भू चोक र टेकुमा समेत आकाशेपुल आवश्यक रहेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा सोमबार र मङ्गलबार नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी संस्थासँग उपत्यकाको ट्राफिक सुधारको बारेमा छलफल गरिएको थियो । छलफलमा ट्राफिक सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमको बारेमा समेत छलफल भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको सवारी साधनसँगै आकाशे पुलको आवश्यकता बढेर गएको बताउँछन् । “जथाभावी बाटो काट्दा दुर्घटना बढ्दै गएको छ, यसलाई रोक्न पनि आकाशे पुल आवश्यक छ”, उनी भन्छन् ।

महाशाखा प्रमुख पन्त उपत्यकाभित्रका महानगर तथा नगरपालिका र सडक विभागले आकाशे पुल निर्माणका लागि आ-आफ्नो योजना प्रस्तुत गरिसकेको भन्दै ती योजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्छन् । हाल काठमाडौँ उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, भोटाहिटी, जमल, वीरअस्पताल, सुन्धारा, पुल्चोक साथै नयाँ बनेका काभ्रे-कोटेश्वर सडक र कोटेश्वर-कलङ्की सडकमा समेत आकाशे पुल निर्माण भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका धेरै स्थानमा आकाशे पुलको आवश्यकता रहेको बताउँछन् । “नयाँ बन्न लागेका पुल दिगो र टिकाउ खालको हुुुनुपर्छ”, उनी भन्छन् । पुल निर्माणसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने उनको भनाइ छ । कोटेश्वरदेखि कलङ्कीसम्म चीन सरकारले बनाएको नयाँबाटोमा दुर्घटना कम गर्न तथा जथाभावी बाटो काट्ने प्रवृत्ति रोक्न सडकको दायाँ बायाँ बार लगाउनुपर्ने आवश्यकता देखिएको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाभित्र ३०० स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने महाशाखाले जनाएको छ । सिंहदरबारदेखि कमलपोखरीसम्मका २७ स्थान, थापाथलीदेखि कालीमाटीसम्मका २६ स्थान, जनसेवादेखि दरबारमार्गसम्म ४६ स्थान, गौशालादेखि चुच्चेपाटीसम्म २३ स्थान, कोटेश्वरदेखि पेप्सीकोलासम्म २८ स्थानमा जेब्रा क्रसिङ तथा लेन मर्मत गर्नुपर्ने भएको छ ।

यस्तै, जावलाखेलदेखि एकान्तकुना हुँदै शशिभवनसम्म ३० स्थान, ठिमी चोकदेखि सूर्यविनायक हुँदै कमलविनायकसम्म १९ स्थान, कौशलटारदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म ३२ स्थान, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म ८ स्थान, कलङ्कीदेखि थानकोटसम्म १५ स्थान, नयाँ बसपार्कदेखि बूढानीलकण्ठसम्म १३ स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख बढी सवारी साधन सञ्चालनमा रहेका छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्