Logo
३१ असार २०८१, आईतबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यादीले एचके एक्सप्रेसकै नाममा न्यूनलागतको हवाई सेवा उपलब्ध गराउने

हङकङ : हङकङको ध्वजाबाहक विमान कम्पनी क्यादी प्यासिफिकले बजेट एयरलाइनर एचके एक्सप्रेसलाई ६० करोड अमेरिकी डलरमा खरिद गर्न लागेको जनाएको छ ।

क्षेत्रमै न्यून लागतका उडान सेवाबाट उत्पन्न प्रतिस्पर्धासँग जुध्न यस्तो कदम चाल्नु परेको क्यादी प्यासिफिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ एयरलाइन्स खरिद गरेसँगै हवाई उड्डयन उद्योगमा हङकङमा प्रमुख चार विमानसेवा प्रदायकमध्ये तीन वटामा क्यादीको बर्चश्व कायम हुनेछ । हङकङ विमानस्थल एसियाकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हो ।

विगत दुई वर्षदेखि नोक्सान व्यहोर्दै आएको क्यादीलाई नयाँ स्वरुपमा लैजान एचके एक्सप्रेसको खरिदले ठूलो मद्दत गर्ने कम्पनीले जनाएको छ । एचके एक्सप्रेससँगको सम्पूर्ण कागजी प्रक्रिया आगामी डिसेम्बरभित्र पूरा हुनेछ ।

क्यादीले एचके एक्सप्रेसकै नाममा न्यून लागतको हवाई सेवा उपलब्ध गराउने जनाएको छ । उक्त घोषणालगत्तै क्यादीको शेयर झण्डै तीन प्रतिशत वृद्धि भएको थियो । क्यादीको सेवामाथि सिंगापुर एयरलाइन्सले सबैभन्दा ठूलो चुनौती दिएको छ ।

एचके एक्सप्रेसले जापान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र भियतनाम समेतका धेरैवटा हवाई मार्गमा सस्तो दरमा उडान गरिरहेको छ । सस्तो विमान सेवाका कारण सबैभन्दा ठूलो चुनौती व्यहोरेको क्यादीले आर्थिक स्थिति सुधारका नाममा सन् २०१६ मा ६०० कामदार हटाउनुका साथै कैयौं स्थानका कार्यालयहरु बन्द गरेको थियो । -एएफपी

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्