Logo
२ श्रावण २०८१, बुधबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतद्वारा मधेशी शहीदलाई माल्यार्पण : ‘युएनपीओबाट हटिँदैन-जनमतसंग्रहको एजेन्डा यथावत’

सिरहा : स्वतन्त्र मधेश गठबन्धलाई भङ्ग गर्दै जनमत पार्टी गठन गरेका सिके राउत मंगलबार आफ्नो गृह जिल्ला सप्तरी पुगेका छन् । सिरहाको लहानमा दुई दिनसम्म चलेको राष्ट्रिय परिषद्को बैठक मार्फत् स्वतन्त्र मधेस गठबन्धनलाई तिलाञ्जली दिँदै जनमत पार्टी गठन गरेका राउत लहानस्थित शहीद रमेश महतोको शालिकमा माल्र्यापण गर्दै आफ्नो गृह जिल्ला सप्तरी आएका हुन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गर्दै आफ्नो घर महदेवा गाउँपालिका पुग्नेछन् । सप्तरी जानुअघि उनका कार्यकर्ताले लहानमा नारावाजी गरेका छन् । मोटरसाइकल र्‍याली प्रदर्शन गर्दै उनका कार्यकर्ताहरुले ‘सिके राउत जिन्दावाद, जनमत पार्टी जिन्दावाद’ सहितका नारा लगाए ।

कार्यकर्ताहरुले सरकारसँग भएको सहमति अनुसार जनतालाई जनमत दिन आग्रह गर्दै पनि नारा लगाएका छन् । ‘जनमत दो, आजादी लो’ भन्ने नारा राउतका कार्यकर्ताहरुले लगाएका थिए । यो नारावाजीलाई राउतको पार्टीले विजयी ¥यालीको रुपमा मनाएका छन् । सरकारसँग भएको सहमति ऐतिहासिक रहेको भन्दै विजयी र्‍याली निकालिएको उनीहरुले बताएका छन् ।

सिरहाको लहान यस्तो ठाउँ हो जहाँबाट मधेस आन्दोलनको सूत्रपात भएको थियो । २०६३ साल माघ ५ गते लहानमा रमेश महतोको आन्दोलनका क्रममा निधन भएपछि मधेश आन्दोलन चर्किएको थियो । तत् पश्चात प्रत्येक वर्ष माघ ५ गतेका दिनलाई मधेसमा बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ ।

यही बलिदानी दिवस मनाउन दुई बर्षअघि सिके राउत पनि लहान पुगेका थिए । त्यस बेला हजारौंले राउतलाई समर्थन गरिरहेका देखिन्थे । तर त्यहीं लहानमा सिके राउतले विजयी ¥याली निकाल्दा सहभागिता एकदमै न्यून देखिएको छ ।

यसैबीच पृथकतावादी नेता सिके राउतले स्वतन्त्र मधेस गठवन्धन भंग गर्दै नयाँ पार्टी गठन गरेपछि त्यसको सबैतिरबाट स्वागत भएको छ । सरकारसित भएको ११ बुँदे सम्झौताप्रति राउत प्रतिवद्ध छन् भन्ने पछिल्लो निर्णयबाट देखिएको धेरैले विश्लेषण गरेका छन् ।

स्वतन्त्र मधेस गठवन्धन भंग भएसँगै यसले अब पृथकतावादीहरुको अन्तर्राष्ट्रिय संगठन युएनपीओको सदस्यता त्याग्नुपर्ने आम जनमत छ । राउतले ‘स्वतन्त्र मधेस’ का तर्फबाट २०१७ को अक्टोबर ३१ मा युएनपीओको सदस्यता लिएका थिए । उक्त सदस्यताले नेपालको मधेस एउटा विवादित भूमि हो भन्ने अर्थ लाग्छ ।

तर, सिके राउतपछिका अर्का एक नेताले भने युएनपीओको सदस्यता नत्यागिने जिकिर गरेका छन् । पूर्वस्वतन्त्र मधेस गठवन्धनका सहसंयोजक तथा हालको जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश महतोले युएनपीओको सदस्यता त्याग्न नमिल्ने र त्यागेको स्वघोषणासमेत नगरिने बताए ।

गत ४ र ५ माघमा बसेको गठवन्धनको राष्ट्रिय परिषदको वैठकले पनि यस सम्वन्धमा कुनै निर्णय गरेको छैन । महतोका अनुसार बैठकमा युएनपीओको सदस्यता त्याग्ने विषयमा छलफल नै भएन । ‘यो विषय छलफलको एजेन्डामा नै थिएन, हामी नयाँ पार्टी निर्माणको विषयमा मात्रै केन्दि्रत भयौं,’ महतोले भने ।

त्यसोभए युएनपीओको सदस्यता कहिले फिर्ता लिनुहुन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा महतोले प्रतिप्रश्न गरे, ‘यो त्यति सजिलो छ ? एकपटक सदस्य भइसकेपछि कसरी फिर्ता लिन मिल्छ ?’

महतोसँगको थप संवाद : 

तपाईहरुले युएनपीओको सदस्यता कायम राख्दासम्म पृथकतावादी आन्दोलन त्यागेको कसरी मान्ने त ?

‘हामीले सरकारसँग ११ बुँदे सम्झौता गरिसकेका छौं । त्यसमा जे छ, त्यसैलाई विश्वास गर्नुपर्छ ।’

तर, ११ बुँदे सम्झौतामा पूर्ण प्रतिवद्ध भए युएनपीओको सदस्यता त्यागेको भनेर पत्र पठाउन किन गाह्रो त ?

मैले भनेँ नि, एकपटक लिएपछि सधैंका लागि हुन्छ । फिर्ता गर्न मिल्दैन । त्यो चानचुने संस्था हो र हामीले जिस्क्याइरहने ? त्यसपछि पछि हट्न सम्भव छैन ।

पृथकतावादी आन्दोलनचाहिँ कागजमा मात्रै अन्त्य भएको हो कि व्यवहारमै अन्त्य हुन्छ ?

यो कुरामा जनताले जे चाहन्छन्, त्यही हुने हो । हामीले निर्णय गरेका छौं, जनताले मान्छन् कि मान्दैनन्, त्यो हाम्रो हातमा छैन ।

तर, मधेसका जनता त अखण्ड राष्ट्रका पक्षमा छन् भन्ने प्रष्टै छ नि होइन र ? खाली तपाईंहरुले आफ्ना कार्यकर्तालाई सम्झाए पुगिहाल्यो नि..

हेर्नुस, हामीले अहिलेसम्म जे पढाएका छौं, त्यो उनीहरुको दिमागमा गढेको छ । सजिलै निस्किँदैन त्यो । समय लाग्छ । एउटा पिँजडाको सुँगालाई तपाईंले राम राम भन्न सिकाउनुभयो भने त्यो उसले कहिल्यै भुल्दैन नि । पिँजडा खुल्ला गरेर जंगलमा छोडिदिनुभयो भने पनि उसले राम राम भनिरहन्छ । त्यस्तै हो । कार्यकर्तालाई पनि बुझाउन समय लाग्छ ।

अस्ति सिके राउतको जनकपुर आउँदा फ्री मधेसको झण्डासहित प्रदर्शन भयो, त्यसको चौतर्फी आलोचना भइरहेको छ । अब यस्तो घटना दोहोरिन्छ कि दोहोरिन्न ?

हामीले त्यसको ग्यारेन्टी गर्न सक्दैनौं । जनतालाई हामीले यसो नगर भनेर रोक्न पनि मिल्दैन । १० वर्ष अगाडि शान्ति सम्झौता गरेको माओवादीले अहिले पनि बन्दूक पड्काउन छोडेको छैन नि ।

तर, यो त सरासर सहमतिविरुद्ध हुँदैन ?

हामी सरकारसँगको सहमतिमा प्रतिवद्ध छौं । जनतालाई विस्तारै सम्झाउँछौं ।

अब जनमत संग्रहको च्याप्टर त तपाईंहरुको बैठकपछि बन्द भयो होइन ?

कसले भन्यो बन्द भयो ? सरकारसँग गरेको सम्झौताले नै यसलाई अनुमोदन गरेको छ । सम्झौता हेर्नुभएको छैन ?

सम्झौतामा कहाँ छ त जनमतसंग्रहको कुरा ? 

दोस्रो बुँदा पढ्नुस् न । जनअभिमतबाट मधेसका समस्या हल गर्ने भनेको छ नि । के जनमत संग्रह भनेको जनअभिमत होइन ? प्रधानमन्त्रीले पनि भन्नुभएको छ कि जनमत अभिमतको उच्चतम रुप भनेको जनमतसंग्रह हो । प्रधानमन्त्रीले नै भनेपछि भएन ? फेरि जनमतसंग्रहसँग किन डराइरहनुभएको छ सबैजना मैले बुझ्न सकेको छैन ।

प्रधानमन्त्रीले भन्नुभएको जनमत संग्रह त राष्ट्रिय अखण्डताबाहेकको विषयमा हो नि । उहाँले राष्ट्रिय अखण्डतामा जनमत संग्रह हुनै सक्दैन भनेर प्रष्ट भन्नुभएको छ । तपाईंहरुले चाहेको जनमत संग्रह के विषयमा हो ?

जे विषयमा पनि हुन सक्छ । जनताले जे विषयमा चाहन्छन्, त्यो विषयमा जनमत संग्रह हुन सक्छ ।

भनेपछि, मधेस अलग गर्ने विषयमा जनमत संग्रह गर्नुपर्छ भन्ने हो ?

त्यो म अहिले भन्न चाहन्न ।

सिके राउतले बैठकमा जनमत संग्रह उच्चारणै गर्नुभएन भन्ने आएको छ नि ? खास कुरा के हो ?

उहाँले उच्चारण नगर्दैमा के हुन्छ ? सरकारले नै सही गरिसकेको छ नि ।

स्वतन्त्र मधेस गठवन्धनको नाम फेरेर नयाँ पार्टी गठन गर्ने निर्णय गर्न कत्तिको सहज भयो ? यसमा सबैको सहमति थियो कि विरोध पनि आयो ?

विरोध त आउने नै भयो । यदि तपाईंको नाम राम छ र तपाईंले नागरिकता बनाउने बेलामा कृष्ण राख्नुभयो भने तपाईंकै परिवारले पनि विरोध गर्छन् नि । पार्टीभित्र पनि वादविवाद भएको थियो । तर, सबैलाई कन्भिन्स गरियो र सहमतिमा निर्णय भयो ।

तपाईंहरुको पार्टीले अब आउने संसदीय चुनावमा भाग लिन्छ त ?

पक्कै पनि लिन्छ । चुनाव लड्नकै लागि पार्टी बनाएका हौं । मूलधारमा आएका हौं ।

अन्य मधेसी पार्टीहरुसँग गठवन्धन वा सहकार्यको सम्भावना छ कि छैन ?

त्यस्तो सम्भावना छैन । हामी एक्लै पर्याप्त छौं ।

स्वतन्त्र मधेसको एजेन्डा छोड्ने गरी सरकारसँग भएको सम्झौताप्रति कार्यकर्ताहरुको कस्तो भावना पाउनुभएको छ ?

९८/९९ प्रतिशत यसमा सहमत छन् । अलिअलि असहमति त भइ नै हाल्छ । तपाईं बैठकमा आउनुभएको भए सबै थाहा हुन्थ्यो ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्