काँग्रेस महासचिव प्रियंकाको ३ दिने गंगायात्रा सुरु
प्रयागराज, भारत : भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गर्नेभएकी छिन् । उत्तर प्रदेशको मैँयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले ३ दिने यात्रा सुरु गरेकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको यात्रा काशीसम्म हुनेछ ।
“गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उहाँ धेरै दयालु हुनुहुन्छ,” महासचिव प्रियंकाले पत्रकारहरुसँग भनिन् । उनले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गरेकी छिन् । यात्राका क्रममा उनी डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै जाने भएकी छिन् ।
उनको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु सहभागी भएका छन् । फुले सन् २०१४ को निर्वाचनबाट लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीबाट निर्वाचित भएकी थिइन् । उनी अहिले भने काँग्रेस पार्टीमा छिन् । यही मार्च २ तारिखका दिन उनी काँग्रेस प्रवेश गरेकी हुन् ।
गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रुपमा लिइएको छ । आम नागरिकलाई राजनीतिक नेताहरुले प्राथमिकता नदिने गरेको भन्दै उनले जनतासँग संवाद गर्ने बताएकी छिन् । भ्रमणका क्रममा उनले माझी र नदिका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया गर्ने भएकी छिन् । “यो एक पक्षीय मन्तव्य सुनाउने यात्रा हुनेछैन, जनतासँग दोहोरो छलफल र वार्ता हुनेछ,” उत्तर प्रदेशका काँग्रेस अध्यक्ष राज बब्बारले ट्वीटरमा लेखेका छन् ।
यात्रामा आम नागरिकसँगको संवादलाई प्राथमिकता दिइएकाले “साच्ची वात, प्रियंकाके साथ” भन्ने नारा तय गरिएको छ । स्टीमर डुङ्गाबाट हुने उनको यो यात्रा झण्डै १४० किलोमिटर लामो हुने नेताहरुले बताएका छन् । भारतको उत्तर प्रदेशमा आगामी अप्रिल ११ देखि मे २३ सम्म विभिन्न चरणमा मतदान हुने तय भएको छ । ( रासस/एएनआई)