घरेलु हिंसा कायमै : श्रीमानको कुटाईबाट गम्भिर घाईते
ओखलढुंगा : श्रीमानको कुटाईबाट एक जना महिला गम्भिर घाईते भएकी छिन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-१ मलीका २७ वर्षीय भुईमान रुम्जाली राईको कुटाईबाट २९ वर्षीया श्रीमती निर्मला राई गम्भिर घाईते भएकी हुन् ।
घरायसी बिवादमा भुईमानले श्रीमतीलाई मराणासन्न हुनेगरी कुटेका हुन् । कुटपिटबाट निर्मलाको शरीरभर चोट लागेको छ भने जताततै निलडाम रहेको छ । कुटपिटबाट गम्भिर घाईते भएकी निर्मलाको यतिबेला ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। कुटपिट गर्ने श्रीमानलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरेको छ । पक्राउ परेका उनीविरुद्ध पीडित श्रीमती निर्मलाले किटानी जाहेरी दिएकी छन् ।
घरेलु हिंसामा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर श्रीमान श्रीमतीबीच नै झगडा परेको थियो । त्यही क्रममा भुईमानले निर्मलामाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । टनाबारे जानकारी पाएलगत्तै प्रहरी टोलीले निर्मलाको उद्धार गरेर मिसन हस्पिटलमा उपचारको लागि लगिएको थियो । उनको अवस्था सुधारउन्मुख रहेको छ । उनीहरुका २ वर्ष र ६ वर्षकी दुई छोरी छन् ।