Logo
२ श्रावण २०८१, बुधबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसाइँ सरेका नेपाली नागरिकले अब हालको ठेगानाबाट पनि नागरिकता पाउने

काठमाडाैं : नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेका नेपाली नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने भएका छन् । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाइ सरेका नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने व्यवस्था गरिएको हो।

पुरानो नागरिकता आफ्नाे खिची नयाँ ठेगानाबाट स्थानीय प्रशासनले नागरिकता दिने व्यवस्था विधेयकमा गरिएको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिए। समितिको आइतबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले तेस्रो लिंगीले पनि नागरिकता पाउनुपर्ने व्यवस्था ऐनमै गर्न सरकारसँग माग गरेका थिए।

समितिका सदस्य जनार्दन शर्माले तेस्रो लिंगीलाई नागरिकता पाउने व्यवस्था ऐनमै गर्नुपर्ने बताए। उनले तेस्रो लिंगी रहर नभई बाध्यता भएको उल्लेख गर्देैै त्यसका लागि नागरिकता दिने कानुनी व्यवस्था गर्नुपर्ने माग गरे। गृह सचिव प्रेमकुमार राईले भने तेस्रो लिंगीलाई चिकित्सकहरुले प्रमाणित गरेपछि मात्रै नागरिकता दिने व्यवस्था गर्ने स्पष्ट पारे।

उनले प्रमाणित नभई तेस्रो लिंगी भन्न नमिल्ने भएकाले चिकित्सकहरुले उनीहरुलाई प्रमाणित गरेपछि मात्रै नागरिकता दिने व्यवस्था गर्न लागिएको बताए। विधेयकमा तेस्रो लिंगीलाई पनि नागरिकता दिने व्यवस्था गरिए पनि उनीहरु तेस्रो लिंगी भए/नभएको छुटट्याउने आधार पेस गरिएको छैन। सचिव राईले तेस्रो लिंगीलाई नागरिकता दिँदा उनीहरु तेस्रो लिंगी हुन्/होइनन् भन्ने प्रमाण आवश्यक हुने पनि स्पष्ट पारे।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्