Logo
२ श्रावण २०८१, बुधबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला सशक्तिकरणको सबैभन्दा शक्तिशाली तस्बिर बनिन् न्यूजिल्याण्डकी प्रधानमन्त्री

३८ वर्षकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आरडर्न पछिल्लो एक वर्षमा महिला सशक्तिकरणको सबैभन्दा शक्तिशाली तस्बिर बनेकी छिन् । उनी संसारकी सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री हुन् । सुत्केरी बिदा लिएर मातृत्व र करियरबीचको सन्तुलनको सन्देश दिने पनि उनी एक्ली प्रधानमन्त्री हुन् । क्लार्क गेफोर उनका पार्टनर हुन् । उनी डकुमेन्ट्री फिल्ममा होस्टिङ गर्छन् ।

महिला दिवसको अवसरमा उनले आफ्नो र जसिन्दाको कहानी यसरी बयान गरेका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री अर्थात् मेरी पार्टनर जसिन्दा र मेरो बारे पढेर तपाईंलाई लाग्ला कि महिला समानता उल्टो दिशामा चलिरहेको छ । हाम्रो कहानीमा जसिन्दा मातृत्व र देशसँग जोडिएको आफ्नो जिम्मेवारीबीच सन्तुलन स्थापित गरिरहेको देखिन्छिन् ।

सुत्केरी बिदापछि संसदमा फर्किएको दिनदेखि नै हामी ९ महिनाकी छोरीलाई एक समूहको रुपमा हुर्काइरहेका छौं । म आमा-छोरीबीच पूलको भूमिका निर्वाह गर्छु ताकि छोरी निवले आमाको साथ र न्यूजिल्याण्डले उसको प्रधानमन्त्री पाउन सकून् । एउटा रोचक किस्सा यहाँ बताउन चाहन्छु । गत वर्ष सेप्टेम्बरको कुरा हो । निव तीन महिनाकी थिइन् । जसिन्दाले संयुक्त राष्ट्रमा प्रधानमन्त्रीको रुपमा भाषण दिन जानु थियो ।

न्यूजिल्याण्डको राजधानी वेलिंगटनबाट न्यूयोर्कको फ्लाइट १७ घण्टा छ । ६ दिनको भ्रमण, ४० भेटघाट र आवतजावतमा ३७ घण्टाको फ्लाइट । तीन महिनाकी छोरीसँग यो मुश्किल थियो । तर प्रधानमन्त्री भएको नाताले जसिन्दा न्यूयोर्क जानै पर्दथ्यो । नभए महिला भएका कारण देश सम्हाल्न नसकेको भन्ने आरोप लाग्थ्यो । निवलाई सँगै नलैजाँदा पनि आलोचना हुन्थ्यो । फ्लाइटको समय छोरीको निन्द्राको साइकल अनुरुप होस् भन्ने हाम्रो चाहना थियो । भाग्यवश, हामीले यस्तो फ्लाइट पायौं पनि । फ्लाइटमा जसिन्दा छोरीलाई चुप गराउनुका साथै भाषणको तयारी पनि गरिरहेकी थिइन् ।

म उठिरहेँ तर आमा-छोरीलाई सुताइदिएँ । किनभने जसिन्दाले अर्को दिन न्यूजिल्याण्डकी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु थियो । यूएन महासभामा भाषण दिनु थियो । साथै, निवले आमालाई भाषण दिइरहेको हेरोस् भन्ने एउटा चाहना पनि थियो । अर्को दिन आमाको भाषण सुरु हुने बित्तिकै निवले दिसा गरिन् । म निवलाई बोकेर डाइपर बदल्नका लागि उपयुक्त स्थानको खोजीमा गएँ । मिटिङ रुममा मैले निवको डाइपर परिवर्तन गरिरहेको थिएँ त्यतिबेला जापानका डेलिगेशन आए । मैले डायपर परिवर्तन गरेको देखेर उनीहरु अचम्मित भए । मैले उनीहरुको प्रतिक्रियाको त्यो तस्बिर खिच्न भने पाइनँ ।

यूएनको इतिहासमा तीन महिनाको बच्चासहित प्रधानमन्त्री सरिक भएको यो पहिलो घटना थियो । यो पललाई संसारले महिला सशक्तिकरणको सबैभन्दा शक्तिशाली तस्बिरको रुपमा लिए । जसिन्दा ती सबै जिम्मेवारीलाई पूरा गर्न चाहन्छिन् जुन पुरुष प्रधानमन्त्रीसँग आशा गरिन्छ । साथै, आमा बनेपछि महिलाको करियर सिद्धियो भन्ने भ्रमलाई पनि चिर्न चाहन्छिन् । महिला मातृत्व र करियर दुबै सम्हाल्न सक्षम हुन्छन् भन्ने उदाहरण पनि स्थापित गर्न चाहन्छिन् ।

जसिन्दाको जीवनमा यो सन्तुलन आमा बनेपछि मात्र स्थापित भयो । तर उनले प्रधानमन्त्री पदसँग जोडिएका कुनै पनि काम कटौती गरेकी छैनन् । हो, बच्चा भएपछि हाम्रो काम एकदमै बढेको त छ । यसलाई हामी दुबैले बाँडेका छौं । निवले आमासँग धेरैभन्दा धेरै समय बिताओस् भनेर हामी निकै सचेत हुन्छौं । संसद चलाउने बेला थोरै समस्या त हुन्छ । म निवलाई दैनिक संसद लिएर जान्छु । त्यहाँ निवले आमासँग समय बिताउन पाउँछिन् र जसिन्दाले पनि छोरीलाई स्तनपान गराउन पाउँछिन् ।

म निवमा आइरहेको हरेक परिवर्तन महसुस गर्छु र आफ्नी पार्टनरलाई यसबारे बताउँछु । र साँच्ची, यो सबै गरेर मैले कुनै महान काम गरेको छैन ।

महिलाको भागको काम गर्नु नै वास्तविक समानता :

महिलाको भागको काम मानिने सबै काम गर्न पुरुष तयार भएमात्र त्यसलाई वास्तविक समानता भन्न मिल्छ । यदि हामीले यस्तो गर्न सके महिलाले ती सबै काम गर्ने समय र मौका पाउँछन् जुन उनीहरु गर्न चाहन्छन् । महिला-पुरुष समानताको यो सबैभन्दा सुखद क्षण हुनेछ । हाम्रो लागि यो मोडल सफल छ ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्