ट्रम्पसँगको घनीभूत छलफल पश्चात रेलबाटै स्वदेश फिर्ता भए उत्तरकोरियाली नेता किम
प्योङयाङ : भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ-उन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ ।
नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए ।किमले भियतनाम भ्रमणका अवसरमा राजधानी हनोइमा गत फेबु्रअरी २७ र २८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । ट्रम्पसँगको भेटवार्तापछि किमले भियतनामको दुई दिने सद्भावपूर्ण भ्रमण गरेका थिए ।
राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण, उत्तर कोरियामाथि लागेको प्रतिबन्ध फुकाउने लगायतका विषयमा घनीभूत छलफल भएको केसीएनएले जनाएको छ । तर दुई नेताबीच कुनै लिखित सम्झौता भने भएन । यसअघि सन् २०१८ जुन महिनामा ट्रम्प र किमबीच सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो ।
यद्यपी दुवै पक्षले कोरियाली प्रायःद्वीपमा जारी शान्ति प्रक्रिया जारी रहोस् भन्ने इच्छा जनाएका छन् । -सिन्ह्वा