राहुल गान्धीप्रति लक्षित मजाक गरेपछि नरेन्द्र मोदीको आलोचना, ‘माफी माग्नु पर्ने’
बाल मनोविज्ञानका अनुभवी तथा वरिष्ठ विज्ञले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नु पर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक कार्यक्रममा डिस्लेक्सियाको मजाक उडाएका थिए । त्यसपछि मोदीको आलोचना सुरु भएको हो र बाल मनोविज्ञले मोदीले यसका लागि माफी माग्नु पर्ने बताएका छन् ।
मोदीले शनिबार राति भएको एक कार्यक्रममा सम्बोधनको क्रममा डिस्लेक्सिया भएका बाललबालिका लागि अपनाइने विधि वा उपचारले ‘४० देखि ५० वर्षका बच्चा’ लाई काम गर्छ कि गर्दैन ? भनी प्रश्न गरेका थिए । उनले आफ्नो सम्बोधनमा ‘४० देखि ५० वर्षको बच्चा’ भनेर कांग्रेस अध्यक्ष राहुल गान्धीलाई शंकेत गरेका हुन् ।
डा. रोमा कुमारले बिबिसीसँग भनेकी छन्, ‘जब देशको प्रधानमन्त्रीले यसरी बोल्छन्, जुन कुनै निकै गैरजिम्मेवार र असंवेदनशील हो । उनले माफी माग्दै पर्छ ।’ दिल्लीको सर गंगा राम अस्पतालमा गएको तीन दशकदेखि कार्यरत क्लिनिकल साइकोलोजिस्ट डा. कुमारले लर्निङ्ग डिस्एबिलिटिजमा विषेशज्ञता हाँसिल गरेकी छन् ।
डिस्लेक्सिया बालबालिकामा हुने सिकाई समस्या अर्थात लर्निङ्ग डिस्एबिलिटिज हो, जसका कारण पढ्न, लेख्न र स्पेलिङ्गमा समस्या हुन्छ । डिस्लेक्सिया भएका केही चर्चित व्यक्तिमा निर्देशक स्टिभन स्पेलबर्ग, अभिनेता टम क्रुज र अभिशेख बच्चन हुन् ।भारत सरकारले सन् २०१५ मा गरेको आँकलन अनुसार भारतका कम्तिमा १० प्रतिशत अर्थात ३५ मिलियन बालबालिकामा डिस्लेक्सिया रहेको छ ।
तर डा. कुमारका अनुसार भने यो समस्याबाट ग्रस्त बालबालिकाको संख्या अधिक रहेको बताउँछिन् । मोदीले शनिबार राति इन्जिनियरिङ्गका विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा डिस्लेक्सियाबारे भत्ता मजाक गरेका हुन् । उनले महिला तथा बालिबालिकाको सुरक्षाका सम्बन्धमा प्राविधिक आइडियाबारेको कार्यक्रममा सम्बोधन गरेका थिए ।