घरायसी विवादमा श्रीमतीमाथि गोली प्रहार
बलेवा : बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ-७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो ।
तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए । घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए ।
घाइते बालकुमारी र उनका श्रीमान् दुबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उनले बताए ।