प्रधानमन्त्री रोजगार कार्यक्रम : कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको नतिजा आज प्रकाशन
काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शनिवार र आइतबार लिइएको रोजगार संयोजकको नतिजा सोमबार प्रकाशित हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार प्रारम्भिक छनोट सूचीमा परेका २ हजार २ सय ६२ जना उम्मेदवार मध्येबाट कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको नतिजा आज प्रकाशन हुन लागेको हो ।
यसअघि मन्त्रालयले देशैभरबाट अनलाइन आवेदन माग गरी देशभरका ७ सय ५३ स्थानीय तहमा रोजगार संयोजकको माग गरेको थियो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७ सय ५ स्थानीय तहमा शाखा अधिकृत सरहको रोजगार संयोजक तथा ४८ स्थानीय तहमा नायब सुब्बा सरहको रोजगार संयोजकको माग गरेको थियो ।
रोजगार संयोजकका लागि देशभरबाट करिब २३ हजार आवेदकले आवेदन दिएका थिए । जसमध्ये करिब २ हजार २ सय जना प्रारम्भिक सुचीमा परेका थिए । प्रारम्भिक सुचीमा परेकाहरुको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो ।
मन्त्रालय स्रोतका अनुसार प्रदेश नम्बर ५ बाहेक अन्य प्रदेशमा कम्युटरमा २५ अंक ल्याउने सबैको जागिर पक्का हुने भएको छ । कम्प्युटर परीक्षामा उत्र्तीण हुन कम्तीमा २५ अंक ल्याउनुपर्ने थियो । कम्प्युटर परीक्षामा ५० पूर्णाङ्कको प्रश्न सोधिएको थियो ।