डीआइजीहरुलाई आइजी सर्वेन्द्र खनालको निर्देशन- आफू पनि राम्रो बन्नुस्, मातहतलाई पनि राम्रो बनाउनुस्
काठमाडौँ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मातहतका प्रहरीलाई सुधार गर्न र आफू पनि राम्रो बन्न वरिष्ठ प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
प्रहरी नायब महानिरीक्षक-डीआईजीमा बढुवा भएका प्रहरी अधिकारीलाई बिहीबार हेडर्क्वाटर बोलाएर खनालले त्यस्तो निर्देशन दिएका हुन्। अपराध अनुसन्धानमा लापरबाही तथा आचरण विपरित क्रियाकलापमा प्रहरीको संलग्नता बढ्न थालेपछि खनाल पछिल्लो समय दबाबमा छन्।
खनालले आफुलाई राम्रो लागेको काम गर्न स्वतन्त्र रहेको तर त्यसका लागि केन्द्रीय, प्रदेश र स्थानीय तहसँग पनि समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए।
हरेक व्यक्तिको काम गर्ने शैली र प्रकृति फरक भएपनि संगठनको मूलभूत उद्देश्य र चाहना अनुरुप कार्य गर्नुपर्ने बताउँदै खनालले संगठनमा कुनै पनि सदस्य नराम्रो रुपमा लाञ्छित हुन नपरोस् भन्ने संगठनको चाहना रहेको बताए। वरिष्ठ प्रहरी अधिकृतहरुले आफू मात्र होइन मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अझै राम्रा बनाउन खरो रुपमा उत्रन उनको निर्देशन थियो।
उनले भने- संगठन सबैको हो र यसलाई अझै राम्रो बनाउन आफ्नो भूमिका कसरी निर्वाह गर्ने भन्ने विचार हरेक कर्मचारीले गर्नुपर्छ।