Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण

नेपालगञ्ज : स्थानीय राँझास्थित नेपाली सेनाको चार बाहिनी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण गरिएको छ ।
सैनिक अस्पतालको नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज उद्घाटन गर्नुभयो ।

सेनाको कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा रु १७ करोड २० लाखमा १६ महिनाको अवधिमा दुई तलाको ३० कोठे अस्पताल भवन निर्माण भएको हो । कूल १४ रोपनी आठ आना क्षेत्रफल रहेको अस्पतालको भवन ३० हजार ४९० वर्ग फिटमा निर्माण भएको जनाइएको छ ।

पचास श्ययाको सो अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत विशेषज्ञ सेवा पनि उपलब्ध छ । अस्पतालले आकस्मिक कक्ष सबैका लागि र बहिरङ्ग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने जनाएको छ ।

सो अस्पताल निर्माणले प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका सैनिक र तिनका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने बताइएको छ । काठमाडौँ बाहिर नेपाली सेनाको यो नै पहिलो अस्पताल हो । यही ढाँचाको अस्पताल इटहरी र पोखरामा निर्माणाधीन रहेको बताइएको छ ।

इटहरीमा अस्पतालको निर्माण अन्तिम चरणमा रहेको र पोखराको ६० प्रतिशत काम सम्पन्न भएको छ । यसैगरी धनगढीको बोराडाँगीमा २५ श्ययाको अस्पताल निर्माणको योजना निर्माण भइरहेको जनाइएको छ । अस्पतालमा सबैखाले बहिरङ्ग सेवाका साथै रेडियोलोजी, अल्ट्रासाउण्ड, एक्सरे, इण्डोस्कोपी, सघन उपचार कक्ष, सिसियु सेवा पनि उपलब्ध रहेको अस्पतालका कमाण्डिङ अफिसर प्रमुख सेनानी डा नरेन्द्र बास्कोटाले बताउनुभयो ।

सो अवसरमा प्रधान सेनापति क्षत्रीलाई अस्पतालका कमाण्डिङ अफिसर प्रमुख सेनानी डा बाँस्कोटाले सेवा प्रवाह, चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थालगायत विषयमा जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्