Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव

लहान : किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ ।

धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल दुई हजार ५०० बोरा मात्र डिएपी कृषि सामग्रीको गोदाममा छ । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको प्रमुख चौलागाईको भनाइ छ । डिएपी मलको अभावकै बीच कृषि सामग्री कम्पनी लिमिटेड लहानले आजबाट मलखाद्य वितरण शुरु गरेको छ ।

विभिन्न स्थानीय तहमा रहेको डिलर सहकारी संस्थालाई युरिया र डिएपी मल वितरण गर्न शुरु गरेको प्रमुख चौलागाईले बताए । डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँगाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।

पहिलो चरणमा १०० सहकारीलाई प्रतिसहकारी ३५ बोराका दरले उपलब्ध गराउने र थप मल आएपछि क्रमशः वितरण गर्ने क्रमलाई निरन्तरता दिने उनको भनाइ छ । कृषि सामग्री कम्पनीले डिएपी प्रतिबोरा दुई हजार १८८ र युरिया रु ७३८ का दरले सहकारी संस्थालाई बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्