Logo
१६ चैत्र २०७९, बिहीबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।

उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि गण्डकी प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

पोखरा विश्वविद्यालयको १९ औँ वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली आज पोखरा आउन लाग्नुभएको हो ।

साधारणसभाले विश्वविद्यालयको आव २०७४/७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आव २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आजै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नुहुने कार्यक्रम तय भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्