Logo
१५ चैत्र २०८०, बिहीबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटहरी ल्याण्डफिल्ड सडक कालोपत्र अन्तिम चरणमा

इटहरी : पूर्वी नेपालकै महत्वाकांक्षी योजनाका रुपमा रहेको इटहरीको ल्याण्डफिल्ड क्षेत्रसम्म जाने पक्की ढलसहितको सडक कालोपत्रे गर्ने योजना लगभग अन्तिम चरणमा पुगेको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ ।

इटहरी उपमहानगरपालिका–१० स्थित बूढीगंगाको पश्चिमतटमा उक्त भौतिक पूर्वाधार निर्माण भएको पनि उपमहानगरपालिकाले बताएको छ ।

इटहरी विराटनगर सडकखण्डको खनार उत्तरबाट पूर्वतिर रहेको बूढीगंगा नदीको तटमा रहेको जमीनलाई वैज्ञानिक ढंगले उपयोग गर्ने गरी इटहरी उपमहानगरपालिका तथा यस आसपासका फोहरसमेत व्यवस्थापन गर्ने गरी निर्माण भइरहेको ल्याण्डफिल्ड क्षेत्रसम्म पुग्नका लागि आवश्यक पर्ने पक्की ढलसहितको २,२५० मिटर लामो कालोपत्रे पक्की सडक निर्माण कार्य यो वर्ष पूरा भएको बताइएको छ ।

गीताञ्जली साई जेभी निर्माण कम्पनीले उक्त ल्याण्डफिल्ड क्षेत्रसम्म जानका लागि उपमहानगरपालिकाले तोकेको क्षेत्रमा सात मिटर चौडा भएको पक्की कालोपत्रे सडकसँगै पक्की ढलसमेत निर्माण गरेर उक्त सडक क्षेत्रमा सधैँ उज्यालो तुल्याउन ४४ वटा सौर्यबत्ती जडान गर्ने कार्यसमेत पूरा गरेको निर्माण व्यवसायी कृष्ण खड्काले जानकारी दिए ।

ल्याण्डफिल्ड क्षेत्र जाने सडकअन्तर्गत केही स्थानमा स्थानीयवासीका घर नहटाएका कारण केही सीमित ठाउँमा ढल र सडक कालोपत्रे गर्ने कार्य रोकिएको तथा उक्त सडकखण्डमा अब कम्तीमा रु २० लाख जतिको काम सिध्याउन बाँकी रहेको र यो गएको चालू आवभित्रमा निर्माण कम्पनीले चार करोडभन्दा बढीको लागतमा उक्त योजना तयार पार्ने कार्यको लगभग काम पूरा गरेको पनि निर्माण व्यवसायी खड्काले जानकारी दिनुभयो । बाँकी रहेको काम पनि चाँडै सम्पन्न हुने उहाँले विश्वास व्यक्त गरे ।

चाँडोभन्दा चाँडो इटहरी र यस आसपासको फोहर व्यवस्थापन गरी कुहिने र नकुहिने फोहरलाई जम्मा पारेर कम्पोष्ट मल अर्थात अग्र्यानिक तरकारीका लागि उपयुक्त मलसमेत तयार पार्ने उद्देश्यसहित कम्तीमा रु साढे चार करोडभन्दा बढीको भौतिक पूर्वाधार तयार भइसकेको ल्याण्डफिल्ड क्षेत्र चाँडै नै प्रयोगमा ल्याउन सकिने अवस्थामा पु¥याइएको उपमहानगरपालिकाले बताएको छ ।

नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त ल्याण्डफिल्ड क्षेत्र र सडक एवं ढलसहित सडक क्षेत्रमा जडान गरिएको सौर्यबत्ती आदिका कारण उक्त महत्वाकांक्षी ल्याण्डफिल्ड क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण गर्ने कार्य द्रुतगतिमा अघि बढिरहेकाले अब चाँडैै नै प्रयोगमा आउन सक्ने विश्वाससमेत उपमहानगरले गर्दै आएको छ ।

केही स्थानमा बाँकी रहेको पक्की ढल र सडक कालोपत्रे गर्ने कार्य तत्काल गर्नका लागि उपमहानगरपालिकाको कार्य अघि बढाइरहेको र स्थानीयवासीसँगै त्यस विषयमा छलफलसमेत अघि बढाइएकाले चाँडै नै काम पूरा भई पूर्वमा नै व्यवस्थित फोहरमैला व्यवस्थापनको महत्वपूर्ण काम सो ल्याण्डफिल्ड क्षेत्रमा हुने विश्वास समेत गरिँदै आएको उपमहानगरपालिकाले बताउँदै आएको छ ।

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्