Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर (स्वास्थ्य विज्ञप्ती सहित)

जुम्ला, ३२ असार :  गत १७ दिनदेखि जुम्लामा अनसनरत रहेका डाक्टर गोविन्द केसीको अवस्था जटिल हुँदै गएको छ । डाक्टर केसीको १५ औं सत्याग्रह अवधि बढ्दै जाँदा उहाँको स्वास्थ्य दिन प्रतिदिन गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुको प्रतिवेदनले सेप्सिसको उच्च जोखिममा रहँदै आउनु भएका डाक्टर केसीको स्वास्थ्य अवस्था गएरातिबाट अचानक थप जटिल बनेको छ ।

आइतबार रातको २ बजे आसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न कठिन भएपछि मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो । प्रतिवेदन अनुसार आइतबार रातिबाटै डाक्टर केसीको इसीजी जाँचमा एक्टोपिक बिट्सहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर पुजन रोकायासहितको उपचारमा खटिएको टिमले रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भई यस किसिमका एक्टोपिक बिट्सहरु देखिएको बताएका छन् । यसैगरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत रहेको विज्ञेप्तिमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपलब्ध स्रोत साधन र जनशक्तिहरुबाट सम्पूर्ण उपचार भइरहेको भएता पनि सेप्सिस वा मुटुका अन्य समस्याले आइसीयू चाहिने परिस्थिति आएमा सुविधा सम्पन्न सेन्टरमा रिफर गर्नु पर्ने चिकित्सकहरुको प्रतिवेदनले जनाएको छ । यसैगरी डाक्टर केसीले एन्टिबायोटिक्स लिन अस्वीकार गर्नु भएका कारण घाँटीको संक्रमण ठिक भएको छैन ।

यसैगरी केसीको मागप्रति समर्थन जनाउँदै महिलाहरु सडकमा उत्रिएका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले बेवास्था गरेको भन्दै आन्दोलनमा होमिन परेको द्वन्द्वपीडित महिला संघ जुम्लाकी अध्यक्ष हरि महतले बताउनुभयो । यसैगरी केसीको मागप्रति अनसनको सुरुदेखि एक्येबद्धता जनाउँदै जुम्लाका नागरिक समाजले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सरकार डाक्टर गोविन्द केसीको मागप्रति कठोर बन्न नहुने भदै राज्य कठोर भएकाले केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गएको आरोप लागउनुभयो । नागरिक समाजले जीवन रक्षासहित माग सम्बोधनका लागि तत्काल वार्ता टोली गठन गरी प्रक्रिया अगाडि बढाउनु पर्ने बताएको छ । यस्तै नागरिक समाजले हस्ताक्षर गरिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई बुझाएका छन् ।

 

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्