Logo
१२ बैशाख २०८१, बुधबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

चितवन : पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो ।

शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख कुमार घिमिरेका अनुसार दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो ।

निर्माणकर्ताले विद्युतीय उपकरण राख्ने भवन, आवश्यक सम्पूर्ण उपकरण र पार्किङसमेत निर्माण गर्नुपर्ने हुन्छ । उनका अनुसार दुई वटा विद्युतीय शव दाह उपकरण जडान गरिनेछ । एकै पटकमा दुई वटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेले बताए।

बढीमा एक घण्टामा एउटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेको भनाइ छ । अत्याधुनिक उपकरण हुने भएकाले वातावरणीय प्रदूषण नहुने उहाँले बताउनुभयो । राजधानी बाहिरको पहिलो विद्युतीय शव दाह देवघाटमा निर्माण गर्न लागिएको हो ।

भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले महानगरपालिकाको विशेष पहलमा विद्युतीय शव दाहस्थल निर्माण गर्न लागिएको बताए ।

दैनिक ३५ वटासम्म शव देवघाटमा ल्याइने गरिन्छ । जसका लागि आवश्यक पर्ने दाउरा पु¥याउन कठिन भइरहेको अवस्थामा विद्युतीय शव दाहस्थल निर्माणसँगै दाउरा र प्रदूषणको समस्या हट्ने उहाँले बताउनुभयो ।

देवघाटमा मानिसको अन्त्येष्टि गरिएको दाउरा र थोत्रा कपडाले नारायणी नदी प्रदूषित बन्दै आएको छ । जसका कारण स्नान गर्न आउने भक्तजनहरु र जलचर प्राणी प्रभावित हुँदै आएका छन् ।

चितवनसहित नेपालका विभिन्न क्षेत्रबाट अन्त्येष्टिका लागि शव देवघाट ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्ष प्राप्ति हुने विश्वास रहिआएको छ ।

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्