Logo
१५ चैत्र २०८०, बिहीबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता हुदै

हेल्सिन्की : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुने भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड आइपुग्नुभएको छ । उहाँहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पको हालैमात्र गर्नुभएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उहाँ यहाँ आइपुग्नुभएको हो ।

तर सो भेटबाट त्यति ठूलो प्रगति भने नहुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । उहाँले उक्त बैठकबाट आफूले कमै अपेक्षा गरेको भेटअघि नै बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उक्त छलफलमा कुनै औपचारिक मुद्दा भने नहुने जानकारी यसअघि नै दिनुभएको छ ।

सोमबार हेल्सिन्की शिखर सम्मेलनका क्रममा उहाँहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।

दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।

यस भेट वार्ताका क्रममा राष्ट्रपतिद्वय ट्रम्प र पुटिनबीच यस विषयमा पनि कुराकानी हुन सक्ने अनुमान गरिएको छ ।
तर सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी लगाइएको आरोपको बारेमा पनि उक्त वार्तामा राष्ट्रपति ट्रम्पले प्रश्न उठाउन सक्ने अनुमान गरिएको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । त्यसपछि उहाँहरुबीच यो पहिलो पटक भेटवार्ता हुन लागेको हो ।

त्यस आसन्न भेटका लागि यो कुनै औपचारिक मुद्दा नभए पनि राष्ट्रपति ट्रम्पले भने त्यसबारेमा आफूले कुरा उठाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्