Logo
११ बैशाख २०८१, मंगलबार
(July 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समयले अपराधीलाई कठघरामा उभ्याएरै छोड्छ : अध्यक्ष दाहाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्नेहरु लुक्न नसक्ने बताएका छन् । आइतबार विष्णु चौलागाईंको १५औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले इतिहासको अदालत धेरै शक्तिशाली हुने जिकिर गरेका छन्  ।

‘एक/दुई वर्ष मान्छेले ढाकछोप गर्न सक्छ । तर, सधैं ढाकछोप केही पनि हुँदैन । हामीले गल्ती गरेको कुरालाई पनि इतिहासले खोतलखातल पार्छ र दूधको दूध, पानीको पानी नबनाएसम्म छाड्दैन । त्यतिबेला राज्यले गरेको गल्तीहरुलाई पनि त्यसरी नै खोतलखातल गरी नै राख्छ। जति नै ढाकछोप गरे पनि ढाकछोप हुँदैन’, उनले भने । जनयुद्धका बेलामा कतिपय गल्ती हामीबाट भए भनेर आफूले त्यतिबेला पनि वक्तव्य दिने गरेको उनले सुनाए। ‘बाँदरमुडेमा जे घटना भयो, गल्ती भयो भनेर यो पार्टीको, केन्द्रको नीति योजना र कार्यक्रमभन्दा बाहिर भयो भनेर त्यति नै बेला वक्तव्य दिएको छु र बिबिसीसँग मैले त्यतिबेला कुरा गरेको छु’, उनले भने ।

‘चाहे बेथानको कुरा गरौं, चाहे दोरम्बाको कुरा गरौं । यी ऐतिहासिक परिघटनाहरु छन्। यी कसैले बिर्साएर बिर्सिन सकिने छैन। तर, कोही गल्ती गरेकोबाट छुपेर जान्छु भनेर सोच्न पर्दैन। इतिहासले चिहान खोतल्दै ल्याउँछ र अपराधीलाई कठ घरामा उभ्याएरै छोड्छ’, प्रचण्डले भने । प्रचण्डले एमाले र माओवादीबीच एकता भएको एउटा वर्गलाई मन नपरि रहेको उल्लेख गरे। ‘जसले लामो समयदेखि शासन गरे, त्यो वर्गलाई मन परेको छैन’, उनले भने, ‘त्यसैले यो एकतालाई के गरी कमजोर पार्न सकिएला र भ्रम छर्न सकिएला भनेर उनीहरु रातदिन कसरतमा लागेका छन् । हामीबाट भएका सानातिना त्रुटिलाई पनि समातेर जनतामा भ्रम पार्नका लागि पूरै तागत लगाउनेतिर केन्द्रित भएका छन् ।’

प्रकाशित मिति: Jul 15, 2018

प्रतिक्रिया दिनुहोस्