Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी दबाब र भारतीय लगानीका कारण कान्तिपुरबाट शर्मा र उपाध्यायको राजिनमा

काठमाडौं : कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका छन् । दुवै सम्पादकले मंगलबार पदबाट राजीनामा दिएको समाचार कक्षमा पत्रकारहरुलाई जानकारी गराएका छन् । सम्पादकद्वय शर्मा र उपाध्यायले करिब १० वर्ष पत्रिकाको नेतृत्वमा रहेर काम गरेका थिए ।

सम्पादकद्वयले आन्तरिक र व्यक्तिगत कारण भन्दै जानकारी गराएको भए पनि मुख्य कारण भने ‘सरकारी दबाब र भारतीय लगानी’ को विषय रहेको उच्च स्रोत बताउँछ । भारतीय पत्रिका टाइम्स अफ इण्डियाका रजनिशलाई अध्यक्षपछिको वरीयता दिनेगरी कान्तिपुरमा भित्र्याएपछि सम्पादकद्वयले राजीनामा दिएको स्रोतले जानकारी दियो ।

समाचार कक्षमा पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै दुवै सम्पादकले आफूहरु ‘अब कान्तिपुरमा नरहेको’ बताएका थिए । तर राजीनामा बारेमा कान्तिपुरको ‘म्यानेजमेन्ट’ ले अहिलेसम्म केही नबताएको पत्रकारहरु बताउँछन् । त्यसअघि सम्पादकद्वय शर्मा र उपाध्यायले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियासँग पटक–पटक छलफल गरेका थिए ।

उनी कामदारका रुपमा मात्रै हो कि लगानीकर्ताकै रुपमा आएको भन्नेबारेमा कान्तिपुरभित्र व्यापक चर्चा भएको छ । सोमबार बेलुका भएको छलफलमा अध्यक्ष कैलाश सिरोहियाले रजनिश ‘मार्केटिङ’ का लागि मात्रै भित्रिएको बताउँदै शंका नगर्न सम्पादकद्वयसहित केही पत्रकारलाई आग्रह गरेका थिए ।

रजनिश आएपछि टाइम्स अफ इण्डियाको व्यापारमा समेत उल्लेख्य वृद्धि भएको उदाहरण दिँदै सिरोहियाले कान्तिपुरले पत्रकारलाई अहिले पाउँदै आएको तलबमा वृद्धि गर्नका लागि पनि ‘मार्केटिङ’ मा जोड दिनुपरेको बताएको स्रोतले जानकारी दियो । तर सम्पादकद्वयले अध्यक्षपछिको वरीयतामा आउने भएपछि आफूहरु रहन नसक्ने स्पष्ट पारेका थिए ।

सोमबारको बैठकमा यस विषयमा पनि अध्यक्ष सिरोहियासँग चासो व्यक्त गरिएको थियो । तर सिरोहियाले लगानीकर्ताका रुपमा रजनिश नआएको बताएको ती पत्रकारले जानकारी दिए । सम्पादकद्वयसँगै अन्य केही पत्रकार पनि राजीनामा दिने मनस्थितिमा रहेको स्रोतले जानकारी दियो ।

यसैबीच पछिल्लो समयमा अध्यक्ष सिरोहिया प्रधान सम्पादक शर्मासँग पनि असन्तुष्ट देखिएका थिए । चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष सिरोहियासँग छलफल गरेर सम्पादकीयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । कान्तिपुर दैनिकमा प्रकाशित ‘बेइजिङसँग बढेको विश्वास’ शीर्षकमा प्रकाशित सम्पादकीयप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले आफुले चीन र भारतलाई ब्यालेन्समा राख्ने प्रयास गरेको भए पनि सम्पादकीयमार्फत चीनतर्फ बढि झुकाव रहेको सन्देश दिइएको भन्दै अध्यक्ष सिरोहियासँग असन्तुष्ट भएको स्रोत बताउँछ । सम्पादकीयमा भनिएको छ– ओलीको भ्रमणबाट चीनसँग बढेको विश्वासलाई सम्झौता÷समझदारीको सहज कार्यान्वयनले टिकाइराख्ने हो । दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका ओलीलाई अहिले काम गर्न आन्तरिक र बाह्य राजनीति पनि अनुकूल छ ।

यो अवसर सदुपयोग गर्दै उनले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तासमेत रक्षा हुने सम्झौता-समझदारीलाई आफ्नो मुलुकको हितअनुकूल जतिसक्दो छिटो कार्यान्वयन चरणमा लैजानुपर्छ । विश्वशक्ति चीन पनि मित्रराष्ट्र नेपालसँगका परियोजनामा आर्थिक लाभहानिका दृष्टिले हेरेर मात्र निर्णयमा पुग्नुहुन्न । द्विदेशीय ऐतिहासिक तथा राजनीतिक सम्बन्धको विरासतअनुरुप फराकिलो सोच राखेर उसले कदम चाल्नुपर्छ ।” राजीनामा बारेमा सम्पादकद्वयले भने केही भनेका छैनन् ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्