Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउपछि रिहा

रौतहट, २६ असार : जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढीमाई नगरपालिकाका मेयरसहित ५ जनासित बयान लिई चाहिएको बेला हाजिर हुने शर्तमा साँझ छाडेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई अपरान्ह सदरमुकाम गौर पठाइएको थियो । चन्द्रपुर नगरपालीकास्थित होटल हिमालयनबाट मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाललगायत कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुसित पालैपालो बयान लिइएको थियो ।

नगरपालिकाको विभिन्न योजनाको भुक्तानीलगायतको काम होटलमा बसेर गरिरहेको सूचनापछि मेयर श्यामप्रसाद यादव, प्रमुख प्रशासकिय अधिकृत नरबहादुर बिक, लेखापाल विमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादवलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

मेयरलगायतका कर्मचारी होटलमा बसेर भुक्तानीको लागी चेक काटिरहेको भन्दै स्थानीयले अख्तियारको हेटौडा कार्यालयलाई जानकारी गराएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयलाई एक्सनमा जान अख्तियारले निर्देशन दिइएको हो । प्रजिअ रिजालको निर्देशनमा तत्कालै होटलबाट मेयर लगायतलाई नियन्त्रणमा लिइएको थियो ।

नगरपालिकाका कर्मचारीका अनुसार नगरपरिषद्‌का बारेमा समेत केही छलफल गर्न होटलमा बसेका थिए । सबै कर्मचारीले लेखापाल मिश्रको बदमासीले मेयरलगायतका कर्मचारीले सास्ती भोग्नु परेको आरोप लगाएका छन् ।नगरप्रमुख यादवले लेखापाल मिश्र कार्यालयमा हाजिर नहुने र उनलाई सर्लाहीको बलराबाट बोलाएर कार्यालयकै काम गराउन लागिएको बताए ।

नगरपालिकाका कर्मचारीको तलबको लागि चेक काटिएको अवस्थामा फेला पारेको छ । तलबका लागि विभिन्न मितिमा काटिएको ५ वटा चेक भेट्टिएको थियो । चेकमा लेखापाल मिश्रले हस्ताक्षर गर्न बाँकी रहेको र होटलमा बसेर गरिरहेको कर्मचारीले बताए । लेखापाल मिश्रकै कारण भुक्तानीमा ढिलासुस्ती र झमेला हुन थालेपछि बिहानदेखि होटलको रुम नम्बर १११ मा मेयर यादवलगायतका कर्मचारी छलफल गर्न बसेका थिए ।

लेखापाल मिश्र कार्यालयमा हाजिर नभएपछि नगरप्रमुख यादबलाई विभिन्न योजनाको भुक्तानीमा समस्या हुँदै आएको थियो । उनले पटक पटक भुक्तानी रोक्न नहुने भन्दै लेखापाल मिश्रलाई बोलाउने गरेका थिए ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्