Logo
४ बैशाख २०८१, मंगलबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दूरसञ्चार अध्यक्ष दिगम्बर झा सहित १५ जनाले पाए जागिर खोसिएको चिठी

काठमाडौं, २४ असार : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ । १५ जनालाई नियुक्ति बदरको पत्र दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार सरकारले १४ भदौदेखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले पत्र काटेको हो ।

नियुक्ति बदरको पत्र पाउनेमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सदस्य हेमकुमार श्रेष्ठ, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्य गोविन्दबहादुर कोइराला र विमला भण्डारी छन् ।

यस्तै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सदस्य विजय देउजा, सेन्सर बोर्डका उमेश खड्का, देवीराम पराजुलीको नियुक्त पनि बदर भएको छ । नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार, राससका सञ्चालक समिति सदस्य एकराज पाठक, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धितालले पनि नियुक्ति बदरको चिठी पाएका छन् ।

नेपाल प्रेस युनियनको आपत्ति 

नेपाल प्रेस युनियनले शेरबहादुर देउवा नेतृत्वको सरकारकोसञ्चार सम्वद्ध संस्थाहरुमा प्रक्रियागत ढंगले नियुक्त भएकाहरुलाई पनि हटाइएको भन्दै आपत्ति जनाएको छ । विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकाहरुलाई दवाव दिई जिम्मेवारी छोड्न बाध्य बनाउने र नयाँ नियुक्ति गर्दा पनि यसअघिको सरकारले बनाएको कार्यविधिलाई लत्याएको पनि प्रेस युनियनले आरोप लगाएको छ ।

विभिन्न प्रक्रिया पार गरी नियुक्त भएकाहरुलाई राजनीतिक पूर्वाग्रह राखी हठात हटाउने र आफ्ना कार्यकर्ताको भर्ती गर्ने कार्य भएको पनि युनियनले बताएको छ ।

‘सरकारको यसप्रकारको निर्णयले ओली नेतृत्वको यो सरकार सबै विचार आस्था राख्ने आम नागरिकको नभई दल बिशेषको मात्र सरकार भएको हाम्रो ठहर छ’ युनियनको विज्ञप्तिमा भनिएको छ । युनियनले उक्त नियुक्ति खारेजको निर्णय फिर्ता लिन पनि माग गरेको छ ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्