Logo
४ बैशाख २०८१, मंगलबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी छाडेर हिँडेका नेताहरुलाई पुनः फर्कन राजपाको आह्वान

काठमाडौँ, २२ असार : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावका समयमा पार्टी छाडेर हिँडेका नेताहरुलाई पुनः फर्कन आह्वान गरेको छ । स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावको समयमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै थुप्रै नेताहरुले पार्टी परित्याग गरेका थिए ।

दुई दिनदेखि राजनीतिक समितिको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा बसिरहेको छ । बैठकले पार्टी छाडेका नेताहरुलाई फर्कन आह्वान गरेको महासचिव केशव झाले जानकारी दिए । हृदयश त्रिपाठी, वृजेश गुप्ता, ईश्वर दयाल मिश्र, पशुपति दयाल मिश्र, जंगीलाल राय यादव, अनिता यादव, विमल श्रीवास्तवलगायतका थुप्रै नेताहरुले पार्टी छाडेका थिए ।

उनका अनुसार दुई दिनदेखि बसिरहेको राजनीतिक समितिको बैठकमा महाधिवेशन र पार्टी विधानको बारेमा पनि छलफल भएको छ । अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र अनिलकुमार झाले छुट्टा–छुट्टै प्रस्तुत गरेको पार्टीको मस्यौदा विधानलाई कार्यदलले एकीकृत गरी मस्यौदा विधानमाथि पनि छलफल शुरु भएको छ ।

असार ४ देखि ६ गतेसम्म बसेको राजनीतिक समितिको बैठकमा अध्यक्ष मण्डलका तीनजना सदस्यहरुले पेस गरेका मस्यौदा विधानलाई अध्ययन गरी एउटा एकीकृत विधान बनाउनका लागि पार्टीले लक्ष्मणलाल कर्ण, वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला सदस्य रहने गरी कार्यदलले बनाएको थियो ।

सो कार्यदलले अध्ययन गरी बिहिबारको बैठकमा एउटा एकीकृत मस्यौदा विधान प्रस्तुत गरेको थियो । सोही विधानमाथि अहिले छलफल जारी छ ।

महाधिवेशनपछि अध्यक्ष मण्डल रहने कि नरहने विषयमा राजेन्द्र महतोले प्रस्तुत गरेको मस्यौदा विधान मौन रहेको छ भने महेन्द्र राय यादवले पेस गरेको विधानमा अध्यक्ष मण्डल रहनु पर्ने उल्लेख छ । यद्यपि, उनले मौखिकमा रुपमा भने अध्यक्ष मण्डलको प्रावधान हटाउनुपर्ने प्रस्ताव राखेका छन् ।

त्यस्तै, अनिल झाको विधानमा पनि अध्यक्ष मण्डल रहनु पर्ने प्रावधान छ तर उनले विकल्पको रुपमा अध्यक्ष मात्र रहनुपर्ने प्रावधान पनि राखेका छन् । आजको बैठकमा महाधिवेशनको कार्यक्रम, मिति र कार्यसूचीको बारेमा छलफल हुने बताइएको छ ।

कारवाहीको तयारी
बैठकले पार्टी हितविपरित काम गरेका नेताहरुलाई कारवाहीको तयारी पनि गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा चुनावबाट चुनिएका कतिपय समानुपातिक उम्मेदवार र पार्टीबिरुद्ध नेताहरुले मुद्दा दायर गरेका छन् । ती मुद्दा फिर्ता लिनका लागि पार्टीले पटक-पटक लिखित तथा मौखिकरुपमा आग्रह गरेको थियो । तर, कसैले फिर्ता नलिएको कारण उनीहरुलाई कारबाही गर्ने निश्कर्षमा पार्टी पुगेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्