Logo
८ बैशाख २०८१, शनिबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीका कारणले सुनसरीका कैयौँ बस्ती डुबानमा

इनरुवा : सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाकाबस्ती डुबानमा परेका छन् ।

सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोला सहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले आधा दर्जन बस्ती डुबानमा परेका हुन् । डुबानका कारण निर्माण सामग्री, बाली र अन्य सामग्रीमा गरी करोडौँको क्षति भएको स्थानीयले बताएका छन् । बाढीका कारण इनरुवा–१०, जल्पापुरमा हाटसेट निर्माणका लागि राखिएका विभिन्न सामानसहित निर्माणका सामग्री बगाएको छ भने मरिया खोलाको बाढीले डुबानमा पारेको छ ।

खोला आसपास क्षेत्रका लहरे र तरकारी बालीमा समेत नोक्सानी पुगेको छ । जल्पापुर मुस्लिम निर्माणका सञ्चालक ऐयुव मियाँले ६० बोरा सिमेण्टसहितका विभिन्न निर्माण सामग्री र मजदूरका खाद्यान्न तथा तरकारी बाली गरी गाउँमा करोडौँको क्षति भएको बताएका छन् । स्थानीयवासी तथा ठेकेदारसमेत रहेका ऐयुव मियाँले डुबानका कारणले जनजीवन समेत धेरै प्रभावित भएको जानकारी दिए । बाढीको कारणले जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–७, नरसिंह टाप्पुको दलित बस्ती डुबानमा परेको छ । नरसिंहको दास टोल र सुकुम्बासी टोलका गरी १०० परिवार डुबानको चपेटामा परेका छन् ।

स्थानीय जगदीश यादवका अनुसार नरसिंह क्षेत्रमा डुबानका कारणले केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । केहीलाई घरमा भान्सा गर्ने अवस्थासमेत नरहेको यादवले बताए । सुनसरी खोलाको किनारमै रहेको बस्तीका धेरै घर डुबानमा रहेको स्थानीय चन्देश्वर मण्डलले जानकारी दिए ।

मण्डलका अनुसार बुधबारदेखिको वर्षाका कारणले आफ्नो गाउँमा बाढी आएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएको हो । उता हरिनगर गाउँपालिका–७ घुस्की का साथै वडा नं २ र ४ मा समेत मरिया खोलाको बाढीले सयौँ घर डुबानमा परेको स्थानीय अब्दुल कैयुम खाँले जानकारी दिए । मरिया र सुनसरी खोलाको बाढीले १२० घर डुबानमा परेको खाँले जानकारी दिए ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्