Logo
१५ चैत्र २०८०, बिहीबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल

पछिल्ला दिनमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद बढ्दै गएको छ । दुई तिहाई बहुमतसहितको सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले गरिरहेका छन् । विरोध प्रदर्शनमा निषेध, चिकित्सा शिक्षा विधेयक, डा गोविन्द केसीका माग लगायतका विषयमा सरकार र नेपाली कांग्रेसबीच विवाद बढेको हो । यिनै विषयमा केन्द्रित रहेर नेकपाका महासचिव विष्णु पौडेलसँग कुराकानी :

डा. गोविन्द केसीको मागका सम्बन्धमा सरकारले वेवास्ता गरेको जस्तो देखिएको छ । तपाई सत्तारुढ दलको महासचिव भएका नाताले कस्तो अनुभूति गर्दैहुनुहुन्छ ?
हामी संविधानको सर्वोच्चता र कानुनीराजमा विश्वास गर्छौँ । लोकतान्त्रिक विधिका साथ लड्नुपर्छ । गोविन्द केसी अनशन बस्दै जाने सरकारले सबै कुरा मान्दै जाने हो भने त लोकतन्त्र नै हुँदैन नि ।

भनेपछि गोविन्द केसीको माग पूरा गर्ने पक्षमा सरकार छैन ?
हैन, एउटा व्यक्तिको माग पनि सुन्नुपर्छ । तर सरकारलाई एउटा व्यक्तिले दबाब दिदै जाने, ठीक बेठीक जे भए पनि माग पूरा गर्दै जाने भन्ने कुरा त हुँदैन नि । कसैको दबाबमा कानुन निर्माण गरेर त भएन नि ।

नागरिकलेसमेत केसीको पक्षमा आवाज उठाइरहेका बेला व्यक्तिगत माग भन्न मिल्छ र ?
शिक्षा र स्वास्थ्य क्षेत्रको विकृति अन्त्यका लागि सरकार आफैँ अग्रसर छ । गरिब जनताका छोराछोरीले पनि स्वास्थ्य शिक्षा पढ्न पाउनुपर्छ भन्ने पक्षमा सरकार पनि छ । तर मैले भनेजस्तो कानुन बनाउनुपर्छ भनेर अनशन बस्न त भएन नि ।

गोविन्द केसीको मागलाईसमर्थन गर्दै कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ नि ?
सबै कुरा हडबाट चल्दैन । लोकतन्त्र भनेको त विधिबाट चल्ने हो ।

तपाईले हरेक जवाफमा लोकतन्त्रको कुरा गर्नुभयो । सरकारले निषेधाज्ञालाई जोडतोडका साथ किन लागु गरेको ? यो लोकतन्त्र हो ?
यस विषयमा अनावश्यक चर्चा गरिएको छ । लोकतन्त्रकै लागि संघर्ष गरेका हौँ । जहाँसम्म निषेधाज्ञाको कुरा छ, हरेक नागरिकले विरोध गर्न पाउने अधिकारलाई त रोकिएको छैन नि । विरोधका तरिकालाई व्यवस्थित गर्न मात्रै खोजिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेका कामले जनता सन्तुष्ट छन् ?
सरकार बनेको जति समय भयो, त्यसको आधारमा भन्ने हो भने सरकार ठीक बाटोमा हिँडिरहेको छ । विगतमा बिग्रिएका धेरै कुराहरु मिलाउँदै नयाँ राम्रा काम गर्नुपर्ने भएकाले अहिले नतिजा नदेखिएको हो ।

भ्रष्टाचार अन्त्य र सुशासनका लागि के भइरहेको छ ?
भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारले चालेको कदमहरु प्रभावकारी छन् । कमिसनतन्त्र, तस्कर, भ्रष्टाचार, अनियमितताको विरुद्धमा सरकारले गहकिलो कदम चालेको छ । अहिलेको सरकारले जनताको पक्षमा काम गर्छ । यसमा आशंका नगरे हुन्छ । सरकार बनेको चार महिनामै धेरै नतिजा कसरी दिन सकिन्छ र ? हुने विरुवाको चिल्लो पात देखिएको छ । केही दूरगामी महत्वका कामहरु पनि सुरु भइसकेको छ ।

चार महिनाको अवधिमा केके काम भयो त ?
प्रधानमन्त्री भएपछि केपी ओलीले छिमेकी देशहरु भारत र चीनसँगको सम्बन्ध मजबुत बनेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारतबीचका समस्या सम्बोधन गर्न सकिएको छ । नेपाल भारतबीचको सम्बन्ध र समस्या’bout नयाँ बाटो तय गर्नका लागि बनेको इपिजीले प्रतिवेदन तयार पारेको छ । त्यसैगरी चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर महत्वपूर्ण सहमति भएको छ ।

चीन र भारतबाट नेपालमा रेल ल्याउ र पानी जहाजको कुरालाई बढी चर्चा गरिएको छ । कहिले आउँछ रेल ?
रेल कहिले आउने भन्ने कुरा आज निर्णय गरेर भोली आउने होइन । मेल पठाएजसरी रेल पठाएर हुँदैन । समय लाग्छ । ५–७ वर्षभित्रमा चाँही रेल आउँछ । पानी जहाजको सवालमा भारत र नेपालबीच जलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भइसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको तल्लो तहमा एकता प्रक्रिया के हुँदैछ ?
सबै जनवर्गीय संगठनहरुको एकताका लागि कार्यदल बनाएका छौँ । कार्यदलको बैठक निरन्तर बसेको छ । अहिले विधान मस्यौदा गर्ने, संगठनको नाम मिलाउने, कसलाई के जिम्मेवारी दिने भन्ने लगायतका विषयमा काम भइरहेको छ ।

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्