Logo
१३ बैशाख २०८१, बिहीबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनरत डा केसी आईसियुमा भर्ना, सरकारको पनि निगरानी

सुर्खेत: स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उनलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए ।

“अनशनस्थल नै जोखिमपूर्ण भएको र उनको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,” डाइरेक्टर रोकायाले भने । डा केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले उनीसंग भेट गरेका थिए ।

स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताएका छन् । यता डा विनोद अर्यालले एक्कासि डा केसीको मिर्गौला र छातीमा समस्या आएपछि उनलाई अस्पताल लैजानुको विकल्प नरहेको बताए ।

डा अर्यालले भने, “निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा केसीलाई प्रतिष्ठानमा पु¥याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।” उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । उनलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले बताएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका उनले विभिन्न व्यवधानको बीच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिबारदेखि शुरु गरेका थिए । आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान उनले राख्दै आएका छन् । रासस

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्