Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाडी मुलुक जाने महिला संख्या बढ्दै गएपछि मानव बेचबिखन जटिल बन्दै

नेपालगञ्ज : बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ ।

भारत र खाडी मुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका महिला तथा बालबालिकाका आफन्तले यहाँ स्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाँङले पनि अवैधरुपमा रोजगारका लागि खाडी मुलुक जाने महिलाको संख्या बढ्दै गएको देखाएको हो । उक्त कार्यालयमा आफन्त खोजीको निवेदन दिनेको संख्या १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको तथ्यांकमा उल्लेख छ भने यस वर्षको पाँच महिनाको अवधिमा १५० जनाले आफन्त हराएको निवेदन दिएका छन् ।

उक्त कार्यालयका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएका मध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी भएको हुनसक्ने उनकोे भनाइ छ । कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र बाँकी भारतमा हराएको हुनसक्ने अनुमान गरिएको छ । संयोजक कोइरालाका अनुसार विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको छ ।

महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनी जोड दिन्छन् । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमा नाकाबाट फिर्ता पठाउँदै आएकोे छ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्