Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसुवामा दुई सय ६५ घरपरिवारलाई राहत वितरण

रसुवा : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ । रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिका अन्तर्गत वडा नं २ को ९७ घरपरिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

यसैगरी उत्तरगया गाउँपालिका वडा नं ३ ठूलोगाउँमा भूकम्प प्रतिकार्य अन्तर्गत छनोट भएका १७१ घरपरिवारमध्ये पहिलो चरणमा १६८ परिवारलाई प्रति घरपरिवार रु १५ हजारका दरले वितरण गरिएको छ । उनीहरुलाई दोस्रोपटक रु २५ हजार भुक्तानी गरी प्रतिपरिवार रु ४० हजार प्रदान गरिने र छनोट भएका सबैलाई क्रमिक रुपले रकम प्रदान गरिने रेडक्रसले जनाएको छ । प्रदान गरिएको रकमबाट भूकम्प प्रभावित परिवारले आफू खुशी बाख्रा, कुखुरापालन वा तरकारी खेतीमा लगानी गरी आय आर्जनबाट आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने बताइएको छ ।

जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र मूल नारालाई सिरोपर गर्दैै रेडक्रस अगाडि बढिरहेको र भूकम्पकै असरले शारीरिक अपाङ्गता भएकी उत्तरगया गापा–३ ठूलोगाउँ निवासी सपना गुरुङको जीवन निर्वाह सहज बनाउन रु तीन लाखको लागतमा एक अपाङ्गमैत्री शौचालय र शौचालय जाने बाटोसमेत निर्माण गरिएको छ । रसुवा जिल्लाको दक्षिण पश्चिम भूभागमा पर्ने ठूलोगाउँ क्षेत्रमा ४५५ घरपरिवारलाई भूकम्पपछिको आवास निर्माण गर्ने जिम्मा पाएको रेडक्रसले हालसम्म ३२० घर निर्माण सम्पन्न गरिसकेको र बाँकी घरको निर्माण कार्य धमाधम अगाडि बढाइरहेको उत्तरगया गापाले जनाएको छ । रेडक्रसले गरेका काम गुणस्तरको भएको र खर्चका विवरण पनि समयसापेक्ष पारदर्शी हुँदै आएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्