Logo
८ बैशाख २०८१, शनिबार
(June 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाम घट्दै गएको कारण बिक्न छाड्यो अलैँचीको बिरुवा

मंगलबारे : इलाममा अलैँचीको (बिजु)बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो । विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ । जिल्लाको सबैभन्दा बढी बिरुवा उत्पादन हुने रोङ गाउँपालिका–६ जिर्मलेबाट यस वर्ष बिरुवा निकासी नभएको स्थानीयवासी गोविन्द पौडेलले बताए । यहाँ रामसाइ, गोलसाइ, जिर्मले र साउने जातको अलैँचीको बिरुवा पाइन्छ ।

यहाँका विभिन्न अलैँची नर्सरी उद्योग (यावा, बेद, अधिकारी र वाइवा) नर्सरी उद्योगबाट करीब ३२ लाख बिरुवा उखेलेर नष्ट गर्नुपरेको अधिकारी नर्सरी उद्योगका प्रोप्राइटर याम अधिकारीले बताए । कुनै समयमा नेपालकै निर्यात व्यापारको सबैभन्दा बढी हिस्सा ओगटेको अलैँची संक्रमणपछि मासिएको थियो । पुनः किसानले धान र मकैबारी मासेर अलैँची लगाउन थाले पनि भाउ घटेका कारण उनीहरू चिन्तित भएका छन् । कुनैबेला प्रतिमन रु एक लाख ४० हजार मसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन रू २५ देखि ३० हजार बिक्री भइरहेको छ ।

किसान अलैँची खेतीमा आकर्षित हुँदा बिरुवाको व्यापारसमेत फस्टाएको थियो । हाल किसानको अलैँचीखेतीप्रति मोह घट्दै गएका कारण नर्सरी उद्योग सञ्चालकसमेत चिन्तित भएका छन् । गत वर्षदेखि नै मेची अञ्चलका जिल्लामा अलैँचीको बिरुवा जान छोडेको थियो । पश्चिम नेपालको दोलखा म्याग्दीलगागतका जिल्लामा निर्यात भएको बिरुवा यस वर्ष सो जिल्लामा समेत नगएको बताइएको छ । अलैँची विकास केन्द्र सूर्योदय नगरपालिका फिक्कलका अनुसार यसवर्ष विगत वर्षहरुभन्दा कम बिरुवा बिक्री भएको छ । अलैँचीको दानाबाट उमारिएको विरुवाबाट चार वर्षदेखि मात्र उत्पादन दिने भए पनि झ्याङ फुटाएर रोपिएको बिरुवाबाट भने दुईवर्षदेखि उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: Jun 24, 2018

प्रतिक्रिया दिनुहोस्