Logo
१५ चैत्र २०८०, बिहीबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ असार १४ गते काठमाडौं आइपुग्ने

काठमाडौं : नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बडी विमान यही असार १४ गते काठमाडौं आइपुग्ने भएको छ । नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ । निगमले जहाज हाल परीक्षणमा रहेको र असार १४ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको बताएको छ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरीद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान आइपुग्न लागेको उल्लेख गरेको छ ।

निगमले आगामी साउनको पहिलो सातादेखि व्यावसायिक उडान शुरु गर्ने तयारी गरेको छ । नयाँ विमान आइपुगेको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको अन्नपूर्ण जहाजका लागि नाइन एन एएलवाई कलसाइन दिएको छ । कूल २७४ सिट क्षमताको सो जहाजमा १६ ओटा ‘विजनेस क्लास’ र बाँकी इकोनोमी सिट रहेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरीद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विमान अवतरण भएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गर्नेछ । निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो । अन्तरराष्ट्रिय उडानका लागि खरीद गरिएको जहाज निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिइएको हो ।

दुईओटा जहाजको लागत रू. २१ अर्ब ९० करोड छ । सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म आउने भनिएपनि दुई महिनाभन्दा बढी समय लागेको हो । नयाँ जहाज दोहा र दुबईमा उडाउने तयारी गरिएको छ । यस्तै निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ ।

दुई वर्ष पहिले अर्थात् सन् २०१६ मा अन्तरराष्ट्रिय उडानतर्फ त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा बढी यात्रु बोकेको निगमले सन् २०१८ को तीन महीनामा आइपुग्दा तेस्रो स्थानमा पुगेको छ । सन् २०१७ मा निगम दोस्रो स्थानमा थियो । निगमकोे एयरबसमा आएको समस्याका कारण यात्रु सङ्ख्या गुमाएको हो । तर महाप्रबन्धक कंसाकारले नयाँ जहाज आएपछि नयाँ गन्तव्य पनि थपिने र यात्रुसमेत बढ्ने बताउँछन् ।

निगमले सन् २०१८ को तीन महीनामा ८९ हजार २ सय १४ यात्रु बोकेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले नयाँ विमान आउनुअगावै आवश्यक कागजात र प्राविधिक तयारीको काम भइरहेको बताए । उनले विमान अवतरण भएपछि गर्नुपर्ने कामबाहेक अरु सबै काम सकिइसकेको जानकारी दिएका छन् ।

निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए । निगमको बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईओटा जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको हो । रासस

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्