Logo
७ बैशाख २०८१, शुक्रबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप फुटबल हेरेर फर्कँदा बाढीमा परी एकजना युवक बेपत्ता

ताप्लेजुङ : ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएका छन् ।

फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।

मोटरसाइकलसहित खोल्सा तर्ने क्रममा अचानक बाढी आएर उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । उनीसँगै मोटरसाइकलको पछाडि रहेका खड्ग विक भने हामफालेर बाँच्न सफल भएका थिए । मोटरसाइकल भने झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने बेपत्ता रहेको बताइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गएराति जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले ग्रामीण सडकलगायतमा क्षति पुगेको बताइएको छ । यता उत्तर—दक्षिण ओलाङचुङगोला लोकमार्गको सडकखण्डमा समेत पहिरोले क्षति पुगेको छ । कतै सडक नै झरेको र कतै माथिबाट आएको पहिरोले सडक पुरेको बताइएको छ ।

यस सडकखण्डमा यातायात नै चल्न नसक्ने अवस्था रहेको फुङलिङ नगरपालिका–१० का वडाध्यक्ष गमबहादुर फुरुम्बुले जानकारी दिए।

पहिरोले पु¥याएको क्षतिको खवरहरु आइरहेको र विवरणसमेत संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । गएराति ताप्लेजुङमा मुसलधारे वर्षा भएको थियो । अहिले विहानदेखि भने वर्षा रोकिएको छ ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्