Logo
३१ असार २०८१, आईतबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मितेरी पुल पार गरेर भारत लैजाँदै गरेकाे १२ टन मरिच बरामद

वीरगन्ज, २२ जेठ : पर्सा स्थित वीरगन्ज भन्सारबाटै मरिच भारत तस्करी भएको पाइएको छ । विशेष सुचनाको आधारमा पर्सा प्रहरीले सोमबार राति भन्सार गेट पार गरेर भारततर्फ गइरहेको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणमा मरिच बरामद भएको हो । वीरगन्ज भन्सार गेट पार गरेर दक्षिणतर्फ गइरहेको उक्त ट्रकलाई वीरगन्ज र भारतको रक्सौल जोड्ने मितेरी पुल अगाडिबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालय र इनर्वा प्रहरी चौकीको टोलीले शंकराचार्य गेट नजिकैबाट नियन्त्रणमा लिएको थियो । ट्रकबाट १२ टन भन्दा बढी मरिच बरामद भएको छ । प्रहरी उपरीक्षक रेवती ढकालले भारतीय नम्बरको ट्रकमा मरिच लोड गरी मुख्य नाकाबाटै भारत लगिरहेको सूचना आएको बताए ।

सूचनाकै आधारमा प्रहरीले नाकामा प्रत्येक भारतीय गाडीको चेकजाँच गरेको थियो । उक्त ट्रकबाट १२ टन दुइ सय किलो मरिच बरामद भएको एसपी ढकालले बताए । भारतको उत्तर प्रदेश कानपुर जिल्लाका बासिन्दा ट्रकचालक धर्मेन्द्र कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । एकदिन अगाडि आलु लिएर आएको ट्रकमा फर्कने बेला छाला भनेर मरिच लोड गरिएको चालकले बताएका छन् ।

वीरगन्जको बाइपास रोडमा अर्को ट्रकबाट मरिचको बोरा लोड गरिएको उनले प्रहरीलाई बयान दिएका छन् । नेपालबाट भारततर्फ जाने मालवाहक सवारी होस् वा कुनै खाली भारतीय गाडी भन्सार गेट पार हुनु अगाडिनै भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने गरेको छ ।

वीरगन्ज भन्सारका प्रवक्ता सन्तोष यादवले मरिच लोड भएको उक्त गाडी कसरी भन्सार गेट पार गर्‍यो भन्ने विषयमा छानबिन गर्न समिति बनाएको बताए । वीरगन्जबाट रक्सौलमात्र पुर्‍याइदिए तेब्बर बढी मूल्यमा मरिच बिक्री हुने भएकाले व्यापारीले तेस्रो मुलुकबाट मरिच नेपाल भित्र्याई खुल्ला नाकाबाट भारततर्फ पठाउँदै आएका छन् ।

सम्बद्ध कारोबारीका अनुसार वीरगन्जमा ६ सय रुपैयाँ पर्ने एक किलो मरिचको रक्सौलमा एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँ पर्छ । पछिल्लो १० महिनायता प्रहरीले १८ टन मरिच भारततर्फ तस्करी हुने क्रममा बरामद गरेको छ । मरिच ढुवानी गर्ने एक थान १० चक्के ट्रक, दुइवटा ट्रयाक्टर, एउटा मोटरसाइकलसहित ८ जनालाई नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको छ ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्