Logo
२ श्रावण २०८१, बुधबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानेपानीको चरम समस्याका कारण स्थानीयवासी गाउँ छाड्न बाध्य

पाल्पा : खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । यहाँका करीब ३०० घरपरिवार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् ।

पाँच सय घरपरिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाइँ सरेर जाँदा अहिले गाउँममा झन्डै २०० घरपरिवार मात्र रहेका छन् । उनीहरु पनि खानेपानीको चरम अभाव र समस्या झेल्दै आएका छन् । वर्षौंदेखि खानेपानीको समस्याले सताइरहेको ७६ वर्षीय लालबहादुर सारुले बताए । पहिले डाँडाको बस्तीभन्दा तल पानीको स्रोत थियो तर त्यो स्रोत पनि सुक्दै गएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको उनले बताएका छन् । एक गाग्री पानी लिन झण्डै दुई घण्टा पैदल हिँड्नुपर्छ । गाउँमा कमाइ भएकाजति सबै अन्यत्र गएको स्थानीय हुमबहादुर सारु बताउछन् । यो क्षेत्र कृषिका लागि अत्यन्त राम्रो छ तर खानेपानीको राम्रो स्रोत नहुँदा स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।

बस्ती भन्दा डेढ किलो मिटर तल सानो ट्याङ्की बाँधिएको छ, त्यो पनि अहिले जीर्ण हुँदै गएपछि पानी कम हुँदै गएको छ । बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकेर पानी खोज्न जानुपर्ने समस्या वर्षेनी हुन्छ, अब त जनप्रतिनिधि गाउँमा आएका छन्, केही हुन्छ कि भन्ने आशा पलाएको पार्वती सारुले बताएका छन् । यहाँ लिफ्टिङ प्रणालीबाट खानेपानीको सुविधा उपभोगका लागि पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्याङ्की निर्माण, धारा जडान र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताएका छन् । कम लगानीमा खानेपानीको व्यवस्थापन गर्न सम्भव नभएकाले अर्को आर्थिक वर्षबाट दोस्रो चरणको कामको थालनी गरिने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्