Logo
७ बैशाख २०८१, शुक्रबार
(June 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ वर्षपछि यादवको सत्तारोहण : को हुन् उपेन्द्र यादव ?

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको सात वर्षपछि पुनः सत्तारोहण भएको छ । पहिलो सविधानसभा चुनावमा देशको चौथो ठूलो दलको रुपमा तत्कालिन संघीय समाजवादी फोरम नेपाल आएपछि उनी तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा २०६५ जेष्ठ १९ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए ।तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कट्वाल काण्ड भएपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।

त्यतिबेला उनले नौ महिनासम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए । प्रचण्ड नेतृत्वको सरकार ढलेको २० दिनपछि अर्थात २०६६ जेष्ठ ९ गते तत्कालिन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएको थियो ।त्यो सरकारमा जान उपेन्द्र यादवले पनि चाहना राखेका थिए । तर, तत्कालिन फोरमका नेता विजयकुमार गच्छदारले सरकारमा जान जिद्दी गरे । यादव र गच्छदारवीच विवाद भएको थियो ।

उपेन्द्र यादवले पार्टीमा आफ्नै नेतृत्वमा सरकारमा जाने नभए नजाने निर्णय गराउन खोजिरहेका थिए ।तर, विजयकुमार गच्छदारले आफ्नो नेतृत्वमा सरकारमा जानुपर्ने अडान लिए । विवाद हल गर्न हप्तौसम्म पार्टीको बैठक चलेको थियो ।कुरा नमिलेपछि गच्छदारले पार्टी फुटाए । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) गठन गरेर गच्छदार माधवकुमार नेतृत्वको सरकारमा सहभागी भए ।

गच्छदारले पार्टी फुटाएर सरकार सहभागी भएपछि उपेन्द्र यादव बाहिरै बसे । माधवकुमार नेपालले २०६७ असार १६ गते प्रधानमन्त्री पदबाट राजिनामा दिए । तर, नयाँ प्रधानमन्त्री नबनेसम्म लामो समयसम्म माधवकुमार नेपाल नै प्रधानमन्त्री रहे । महिनौ कामचलाउ प्रधानमन्त्री बने ।

माधवकुमार नेपालपछि को प्रधानमन्त्री हुने संसदमा लामो समयसम्म बहस चल्यो र पटक–पटक त्यसका लागि चुनाव पनि भयो । रामचन्द्र पौडेल, प्रचण्ड, विजयकुमार गच्छदार प्रधानमन्त्रीका उम्मेदवार थिए । प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलले १७ पटकसम्म प्रतिस्पर्धा गरे । तर, उनी प्रधानमन्त्री हुन सकेनन् ।

रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन छिमेकी भारतको पनि चाहना थियो । अन्त्यमा केही नचलेपछि तत्कालिन माओवादीले तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाललाई समर्थन गरे । खनाल प्रधानमन्त्री बने । खनाल नेतृत्वको सरकारमा चार बुँदे सम्झौता गरेर उपेन्द्र यादव पनि सहभागी भए ।

त्यो सरकारमा उनी उपप्रधान तथा पराराष्ट्रमन्त्री भएका थिए । तर, खनालको सरकार धेरै लामो समयसम्म टिकेन् । भारतको चलखेल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको रणनीतिका कारण ६ महिना नपुग्दै सरकार ढल्यो । र तत्कालिन माओवादीका नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने ।

दुईटा सरकारमा उनी १५ महिनासम्म परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा अन्य सबै मधेशवादी दल सहभागी भए, तर उपेन्द्र यादवको पार्टी सहभागी भएन । डा.भट्टराईको नेतृत्वमा सरकार गठन हुने बेला जयप्रकाश गुप्ताले पार्टी विभाजन गरे । गुप्ता सरकारमा सहभागी भएका थिए । झलनाथ खनाल नेतृत्वको सरकार ढाल्ने त्यतिबेला मुख्य योजनाकारमध्येकै जेपी गुप्ता मानिन्थे ।

त्यसपछि उपेन्द्र यादव लगातार आन्दोलनमा लागि रहे । २०७० मा पहिलो सविधानसभा विघटन भएपछि भएको दोस्रो सविधानसभा चुनावमा उपेन्द्र यादवको पार्टीले त्यति राम्रो उपलब्धी हाँसिल गर्न सकेन । प्रत्यक्षमा दुईटा र समानुपातिकमा आठ वटा सीट मात्र हात पार्न सफल भए उनी । त्यसपछि पनि उनी सरकारमा सहभागी भएनन् ।

सरकारमा सहभागीका लागि उनलाई पटक–पटक आग्रह गरिएको थियो । तर, उनी सविधान संशोधनको माग राख्दै सडकमा थिए । विरोधका वावजुद सविधानसभाबाट सविधान निर्माण भयो । तीनटै तहको चुनाव भयो । फोरम नेपाल सबै चुनावमा भाग लियो । देशैभरि उम्मेदवारी दिएपनि महत्वपूर्ण उपलब्धी दुई नम्बर प्रदेशमा मात्र भयो । त्यही उपलब्धीका करण उसले त्यहाँ राजपा नेपालसँग मिलेर सरकार बनाउन पनि सफल भयो ।

तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन गर्न लाग्दा सप्तरीमा रहेका उपेन्द्र यादवलाई काठमाडौं बोलाएर सरकारको विषयमा छलफल गरेका थिए । त्यतिबेला पनि उपेन्द्र यादवले सरकारका विषयमा सकारात्मक भएका थिए । तर, सविधान संशोधनको विषयमा केही न केही गर्नुपर्ने अडान लिएपछि शुरुकै चरणमा सरकारमा सहभागी उनका पार्टीले सकेन ।

दोस्रो चरणमा मन्त्रीपरिषद् विस्तार हुँदा उपेन्द्र यादव सहभागी हुने तय भइसकेको थियो । तर, मन्त्रीमा को–को जाने भन्ने तय हुन नसकेपछि विलम्ब भएको थियो । स्रोत भन्छ, ‘त्यतिबेला उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा जाने भनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग तीन बुँदे सहमति पनि गरेका थिए ।’

तर, पार्टीमा मन्त्रीको विषयमा विवाद भएपछि त्यतिबेला पनि सरकारमा सहभागी हुन सकेन । ओली नेतृत्वको सरकारमा सहभागी हुन उपेन्द्र यादवले तीन महिना कुर्नु पर्यो । अढाई महिनासम्म पार्टीमा कुरा मिलाउन समय लाग्यो । मन्त्रीका उम्मेदवार राजेन्द्र श्रेष्ठ, रेणु यादव, इस्तियार राइन, रामसहाय यादव, प्रदीप यादव, उमाशंकर अरगरिया, हरिनारायण रौनियारलगायतका नेताहरु दौडधुपमा थिए ।

जेठ १६ गते बसेको फोरम नेपाल संसदीय दलको बैठकले मन्त्री चयन गर्ने जिम्मेवारी उपेन्द्र यादवलाई दियो । उपेन्द्र यादवले जिम्मेवारी पाएपछि जेठ १७ गते सल्लाह गर्नका लागि पदाधिकारीको बैठक बोलाएका थिए । सो बैठकमा उनले सबैसँग सल्लाह लिएका थिए । हिजो दिनभरि स्वास्थ्यमन्त्रीमा राजेन्द्र श्रेष्ठ र शहरी विकास मन्त्रीमा उपेन्द्र यादव स्वयं जाने चर्चा चलेको थियो ।

तर, उपेन्द्र यादवले हिजो साँझ ६ वजे सुटुक्क प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य मन्त्रीमा आफ्नो र शहरी विकास मन्त्रीमा इस्तियाक राइनको नाम बुझाएका थिए । आज उनले स्वास्थ्य तथा जनसँख्या मन्त्रीमा सपथ लिएका छन् ।उपेन्द्र यादवले परराष्ट्र मन्त्रीमा दावी गरेका थिए । तर, प्रधानमन्त्री अ‍ोलीको चीन भ्रमणको तयारी चलिरहेका बेला सो मन्त्रालय तत्काल हेरफेर नगर्ने भनेपछि उपेन्द्र स्वास्थ्यका लागि राजि भएका थिए । पछि मन्त्रालय हेरफेर हुनसक्ने फोरम नेपालका एक नेताले बताए ।

राजनीतिक यात्रा
सामाजिक संस्थाको रुपमा २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल गठन गरी २०६३–०६४ मा मधेश आन्दोलन शुरु गरेपछि एका एक चर्चामा आएका उपेन्द्र यादव त्यसपछि उनको चर्चा कहिले सेलाएनन् । उनको राजनीतिक यात्रा २०३२ सालबाट नै शुरु भएको थियो । पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भएका उपेन्द्र यादवले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको चौवन्नी सदस्यता लिएका थिए ।

विद्यार्थी राजनीति हुँदै उपेन्द्र यादवले यादव २०३६ सालको जनमतसँग्रहमा सक्रिय हुनुभएको थियो । अखिल विभाजित भएपछि उनी प्रगतिशील विद्यार्थी (युनियन) को दुई कार्यकाल उपाध्यक्ष पनि भएका थिए । काँग्रेसले शुरु गरेको सत्याग्रह आन्दोलनमा सामेल भए र काठमाडौमा उनलाई गिरफ्ताल गरी सेन्ट्रल जेलमा राखेको थियो ।

पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (माक्र्सवादी) बन्यो । सो पार्टीको कोशी अञ्चल कमिटीमा रहेर काम गर्न थालेका उपेन्द्र यादव २०४६ सालको जनआन्दोलनमा यादव विराटनगरमा गिरफ्तार भएका थिए ।

प्रजातन्त्र पुनस्थापना भएपछि मात्र उनी रिहाय भए । पछि माले र माक्र्सवादीबीच भएकता भएर एमाले बन्यो र उनी सो पार्टीबाट सुनसरी–४ बाट गच्छदारको प्रतिस्पर्धी चुनाव लडे तर उनी पराजित भए । पछि उनी माओवादीमा आवद्ध भएपछि मातृका यादव र सुरेश आले भारतको दिल्लीमा गिरफ्तार भएका थिए । तर, उनी तत्कालै रिहाय भएका थिए ।

मातृका र सुरेश आलेमगरलाई भारतले नेपाललाई सुपुर्दगी गरेपनि उनी रिहाय हुनुलाई तत्कालिन माओवादीले उपेन्द्र यादवलाई आशंकाको शंकाको घेरामा राखेका थिए । माओवादीले उनलाई गोप्य ढंगबाट खोजि गर्न थालेपछि उनी सो दलबाट टाढिएका थिए । र, मधेशी जनअधिधकार फोरम नेपाललाई सक्रिय गर्न थाले । भारतमा अर्धभूमिगत अवस्थामा रहेर उनले फोरम नेपालको संगठन विस्तार गर्न थाले ।

२०६४ माघ २ गते माइतीघर मण्डलका नेपालको अन्तिरम सविधान जलाएर आन्दोलनको घोषणा फोरम नेपालले गरेको थियो । त्यो बेला शुरु भएको आन्दोलन कुनै नकुनै रुपमा उपेन्द्र यादवले जिवित राखेका छन् । उनी भन्छन, ‘२०६४ सालमा जुन मुद्दा लिएर आन्दोलन शुरु गरेका थियौं त्यो अझै पुरा भएको छैन, केही पुरा भएपनि मुख्य मुद्दा सिमांकन अझै बाँकी छ ।’

को हुन् उपेन्द्र यादव ?
२०१६ सालमा सप्तरी जिल्लाको भागवतपुरमा जन्मेका उपेन्द्रको शिक्षादीक्षा र लालपालन सुनसरीमा भयो । धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा उपेन्द्र यादवका दाइ डम्बर यादव खेतीपाती गर्छन ।

मधुवनको मोहन नि.मा.वि.मा उहाँले प्रारम्भिक शिक्षा प्राप्त गरेका उनी जनता मावि मधुवन र वनदहवाकट्टीमबाट २०३२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी धरानको हात्तीसार क्याम्पसमा भर्ना भए । त्यहाँबाट आईएस्सी गरेका उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरे । #रोतोपाटी

top

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्