Logo
१२ बैशाख २०८१, बुधबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमलाई सहरी र स्वास्थ्य मन्त्रालय : मन्त्री छान्ने जिम्मा यादवलाई

काठमाडौँ : संघीय समाजवादी फोरमले सरकारमा जाने मन्त्री र नेकपासँगको छलफलबाट मन्त्रालय टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । तीन दिनअघि फोरम र नेकपाबीच दुईबुँदे सहमति भएको थियो । सहमति भएको तीन दिन बितिसक्दा पनि फोरमले मन्त्री छनोट गरेको छैन ।

‘सरकारमा जाने टुंगो लागिसकेको छ, को व्यक्ति जाने भन्ने अध्यक्षले पार्टीभित्र छलफल गरेर टुंग्याउनुहुन्छ,’ फोरम नेता रामसहाय यादवले भने । नेकपाले फोरमलाई दिनका लागि यसअघि नै सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा मन्त्री खाली राखेको छ । स्वास्थ्यमा राज्यमन्त्री मात्र राखिएको छ ।

फोरमबाट अध्यक्ष यादवले नै नेतृत्व गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । अर्को एक मन्त्री र राज्यमन्त्रीमा को पठाउने भन्ने फोरमले तय गर्न सकेको छैन । धेरै नेताको दौडधुप रहेकाले मन्त्री छान्न यादवलाई सकस परिरहेको छ । फोरमभित्र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने मत पनि छ । जनजाति पृष्ठभूमिबाट आएका नेताहरूले श्रेष्ठलाई नै पठाउनुपर्ने लबिङ गरिरहेका छन् ।

तर केही मधेसी पृष्ठभूमिका नेता भने गत चुनावमा मधेसबाट धेरै मत आएकाले मधेसीलाई नै पठाउनुपर्ने लबिङमा छन् । फोरमले यसअघि सहरी विकास मन्त्रालयबाट खानेपानी छुट्याएकामा आपत्ति जनाएको थियो । आफूलाई दिने भनिएको स्वास्थ्य मन्त्रालयमा पनि पहिले नै राज्यमन्त्री राखिएकामा असन्तुष्टि पोखेको थियो ।

अब सरकारमा सामेल हुने बेलामा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेर सहरी र स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा फोरमलाई नै दिने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले फोरमलाई छिटो नाम टुंग्याएर ल्याउन भनेका छन् । फोरमले नाम बुझाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । हाल प्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्