Logo
२ श्रावण २०८१, बुधबार
(May 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफैंलाई गोली हान्न लगाएका आचार्य श्रीनिवास झुम्का जेल चलान

बिराटनगर : आफैंलाई गोली हान्न लगाएका भनिएका अाचार्य श्रीनिवास भन्ने दिनेश पण्डितलाई बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई झुम्का कारागार पठाइएको हो ।

गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाका लागि आन्दोलन गराउन असफल प्रयास गरेको अभियोगमा उनी पक्राउ परेका थिए । जिल्ला न्यायधीश नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । बाराको सिमरा–३ घर भई सुनसरीको चकरघट्टी लक्ष्मी बैङकटेशको आश्रममा बस्ने आचार्य २०७१ सालदेखि हिन्दुराज्य स्थापनाका लागि सक्रिय छन् ।

यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

आचार्यको पक्षमा जिल्ला प्रशासनमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए भने चौधरी र अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ताद्वय मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए । सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेको थिए ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पूराण बाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १:४५ बजे शौच गर्न कोठाबाट बाहिर निस्केको अवस्थामा भएको गोली प्रहारबाट घाइते भएका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए । काठमाडौंबाट थप उपचारका लागि भारतको लिल्ली जान लागेको समयमा बैशाख २४ गते बिहान आचार्यलाई प्रहरीले पक्राउ गरेका थियो ।

 

प्रकाशित मिति: May 30, 2018

प्रतिक्रिया दिनुहोस्