Logo
५ श्रावण २०८२, आईतबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न चीन उत्सुक

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतवार भएको भेटवार्तामा नेपाल–चीनबीच विद्युत विकासका द्धिपक्षिय सम्भावनाका परियोजनाका विषयमा छलफल भएको छ ।

राजदूत पौडेलले चीन नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको जानकारी गराउनुभएको थियो । यसैगरी, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण, ऊर्जा विकास समन्वय (इनर्जी को–अपरेसन) लगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसको लागी आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गर्नुभएको थियो । चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलको भनाइ थियो ।

चीन नेपालमा ३–३ वटा ठूला जलविद्युत तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि पौडेलले अवगत गराउनुभएको थियो । जलविद्युत तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले आग्रह गर्नुभयो ।

भेटमा मन्त्री पुनले आयोजना छनौटको लागी छलफल चलिरहेको बताउनुभयो । नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।

 

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्