Logo
२ श्रावण २०८१, बुधबार
(May 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले कुनै ‘राष्ट्रघात’ गरेको छैन, मोदीको नेपाल भ्रमण उपलब्धिपूर्णः ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्र हितविपरितका कुनै सन्धीसम्झौता नभएको स्पष्ट पारेका छन् । आइतबार संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा ओलीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । ओलीले मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भ्रमण ऐतिहासिक भएको दाबी पनि गरे । उनले मोदीको भ्रमण नेपाल र भारत दुबै देशको हितमा रहेको पनि बताए ।

उनले तीन वर्षअगाडि नेपाल भारतबीच रहेको तनावपूर्ण सम्बन्ध सुधार भएर अहिले सामान्य अवस्थामा आइपुगेको पनि बताए ।

‘तीन वर्षअघि नेपाल भारतबीच तनावको स्थिति थियो । त्यतिबेला म प्रधानमन्त्री हुँदा नाकाबन्दी लागिरहेको थियो । नाकाबन्दीको अवस्थाबाट हामी अहिलेको अवस्थामा आइपुगेका छौं’, ओलीले भने । उनले नेपाल जुनसुकै देशसँग सन्तुलित सम्बन्ध कायम गर्न स्वतन्त्र रहेको पनि बताए ।

आफू नाकाबन्दी खोलेर भारत गएसँगै सम्बन्ध सुधारको नयाँ आयाम सुरु भएको भन्दै ओलीले सम्बन्ध बराबरीको हैसियतामा हुने पनि स्पष्ट पारे । देशको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकीसँग सम्बन्ध र व्यवहार हुने उनको भनाई थियो ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिमा पनि नेपाल आफ्नो आवश्यकता र प्राथमिकतामा अघि बढ्दा कुनै चित्त नदुख्ने र सहयोग हुनेमा खुलस्त प्रकट भएको धारणा राखे ।

प्रकाशित मिति: May 13, 2018

प्रतिक्रिया दिनुहोस्