Logo
७ बैशाख २०८१, शुक्रबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोर्खाका भूकम्पपीडित ज्याला मजदूरी गरेर गुजारा चलाउँदै

मनाङ : २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन गोरखा केरौँजाका भूकम्पपीडित अझै मनाङमा ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् । घरबार र आफन्त गुमाएपछि कुम्लोकाम्लो बोकेर मनाङ पसेका गोर्खाली अहिले मजदूरीमा व्यस्त छन् । भूकम्पले गाँस र बास हराएपछि भूकम्पपीडित गाँसबासको खोजीमा मनाङ छिरेका थिए । आफ्ना साना नानी काखी च्यापेर मनाङ पसेका पीडित ज्याला मजदूरी गरेर गुजारा चलाइरहेका छन् ।

अहिले ती भूकम्पपीडित मनाङको भ्रका, पिसाङ, ङावोल, घ्यरु र खंसारमा अस्थायी बसोबास गर्दै आएका छन् । उनीहरु दैनिक रु ६०० देखि ७०० कमाउँछन् । दिनभर मजदूरी गरी कमाएको पैसाले छाक टार्न मात्र पुग्ने गरेको गोर्खा केरौँजाकी माया गुरुङले बताइन् । भूकम्पले घर भत्काएर घरबारविहीन भएका पीडितले अहिलेसम्म सरकारले पहिलो किस्ताको रु ५०हजार दिएको राहतले कुनै गर्जो नचलेपछि आफूहरुले ज्याला मजदूरी गरेर पेट पाल्न बाध्य भएको बताउँछिन् ।

भूकम्पबाटै घरबार विहीन भएर ज्याला मजदूरी गर्न रसुवा, धादिङ, नुवाकोट लगायतका ठाउँबाट मनाङ आएका भूकम्पपीडित मनाङका विभिन्न ठाउँमा ज्याला मजदूरी गरी गुजारा चलाइरहेका छन् ।भूकम्पले घरबारविहीन भएर कामको खोजीमा अन्यत्र गएकालाई पनि सरकारले राहत र बासस्थानको व्यवस्था मिलाउनु जरुरी देखिएको छ । भूकम्प गएको तीनवर्ष बितिसक्दा पनि पीडितको अवस्था ज्यूँका त्यूँ हुनुमा कसको कमजोरी छ, कहिले पाउलान् पीडितले तोकिएको राहत, यसमा सरकारको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । (रासस)

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्