Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिनवटै पार्टी एकीकरणका लागि राप्रपा नेताहरू छलफलमा

काठमाडौं १२ बैशाख : तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । राप्रपा स्थापना भएको १५ जेठमा पार्टीलाई एकढिक्का बनाउने गरी नेताहरूले प्रयास थालेका हुन् । राप्रपा १५ जेठ ०४७ मा स्थापना भएको थियो ।

पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र राप्रपाकै उपाध्यक्ष बुद्धिमान तामाङ तीन चिरामा विभक्त पार्टी जुटाउने पहलकदमीमा लागेका हुन् । उनीहरूबीच चन्द निवास लोकन्थलीमा तीनपटक अनौपचारिक वार्ता भइसकेको स्रोतले बतायो ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो । पार्टी विभाजनका कारण राप्रपाले अप्रत्याशित हार व्यहोरेको भन्दै प्रजातान्त्रिक शक्ति बलियो बनाउन एकजुट हुनुपर्ने धारणा तीनवटै राप्रपाका नेताले बताउँदै आएका थिए ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले आफू तीन धारको राप्रपालाई एकढिक्का बनाउन लागिरहेको बताए । ‘पार्टीको तीन धार एक बनाउने प्रयत्नमा म छु,’ उनले भने, ‘पार्टीलाई पुनः एक बनाउनुपर्छ भन्नेमा नेताहरू सकारात्मक हुनुहुन्छ ।’ स्रोतका अनुसार लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउने, नभए चार नेता सम्मिलित अध्यक्षमण्डल बनाएर अघि बढ्ने विकल्पमा नेताहरूबीच छलफल चलिरहेको छ ।

मुलुकको प्रधानमन्त्री बनिसकेको र उनी नेतृत्वको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा मन्त्री रहेकाले चन्दलाई अध्यक्ष मान्न अन्य नेताहरूलाई अप्ठ्यारो नपर्ने भन्दै अध्यक्ष बन्न प्रस्ताव गरिरहेका छन् ।

त्यो विकल्प सम्भव नभएमा चन्द, राणा, थापा र डा. लोहनी रहेको अध्यक्षमण्डल बनाएर अघि बढ्ने र १५ जेठमा पार्टी एकीकरण गर्ने गरी छलफल चलिरहेको छ । तर, दुवै विकल्पमा डा.लोहनी र थापाले नमानेकाले औपचारिक वार्ता गर्न केही ढिलाइ भइरहेको नेताहरू बताउँछन् ।

राप्रपाको तीन धार मिल्दै प्रजातान्त्रिक शक्ति बलियो नबन्ने राणाको भनाइ छ । अहिलेको वाम गठबन्धनलाई टक्कर दिने प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपाको तीन धारसँगै कांग्रेस र मधेसकेन्द्रित दल पनि मिल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्