राष्ट्रिय पुस्तक नीति चाँडै आउँछः शिक्षा मन्त्री पोखरेल
काठमाडाै, ११ बैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति छिट्टै जारी गरिने बताएका छन्। राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पुस्तक दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले विसं २०६९ मा प्रतिवेदन तयार भई थन्किएर बसेको नीतिलाई परिमार्जन गरी जारी गरिने र राष्ट्रिय पुस्तक परिषद् गठन गरिने बताएका हुन्।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य डा.विजय पौडेलले पुस्तक नीति नहुँदा भारतमा पुस्तक छपाएर ल्याउँदा सस्तो पर्ने र नेपालमा कागज आपूर्ति गर्दा महँगो पर्ने स्थिति रहेको बताए। काँग्रेसका नेता रमेश लेखकले पुस्तक नीतिका लागि आफ्नो पार्टी आवश्यक सहयोग गर्न तयार रहेको बताए। माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पुस्तक नीति अहिलेको आवश्यकता भएकोमा जोड दिए।
महासंघका महासचिव नवनिधि पन्तले पुस्तक नीतिका लागि आफूहरुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि विगतका सरकारले ध्यान नदिएको गुनासो गरे।