Logo
१५ चैत्र २०८०, बिहीबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाँ अँध्यारो कोठाभित्र नेगेटिभ डेभलप हुन्छ..लेनिन, मलाई तिम्रो फोटो होइन डार्क रुम हेर्न मन छ !

लेनिन मलाई तिम्रो फोटो होइन
डार्क रुम हेर्न मन छ,
जहाँ सानो अँध्यारो कोठाभित्र
नेगेटिभ डेभलप हुन्छ

हो, फोटो धुलाउने डार्क रुम
जहाँ डेभलप हुनु पर्ने तर भएनन्
बर्तमान माक्र्सहरु तस्करहरुसँग
गोप्य गरिरहेका तस्वीरहरु
बर्तमान माओहरुले
विदेशी इसारामा
नेपाली सुरक्षाकर्मी मार्ने
योजना बनाइरहेका फोटाहरु
बर्तमान एङ्गेल्सहरुले
पृथ्वी जयन्ती मासेर
क्रिसमस मनाउन
करोडौँ रकम लिइरहेका दृश्यहरु
बर्तमान स्टालिनहरुले
मन्दिरहरु भत्काएर
चर्चहरु बनाउन
ठेक्का लिइरहेका
अँध्यारो बैठकका चित्रहरु
जनतालाई थाहै नदिई
संविधानमा खुसुक्क
धर्मनिरपेक्षता घुसाउने
षडयन्त्रका प्रतिमाहरु
हो, ती फोटाहरु टाँसौँ न टुँडिखेलमा,
तिम्रो फोटो हटाएर, है लेनिन ?
राष्ट्रिय सभागृहमा
चोक,चोक र गल्लीहरुमा

फोटोेले कुनै असल प्रेमीलाई
सान्त्वनाबाहेक केही दिँदैन,
जब प्रेमिका मरेर जान्छिन्
चित्त बुझाउँछ मान्छे फोटो हेरेर
र, सम्झन्छ बिर्सिएका कुराहरु
फोटो बितेकाहरुका
आदर्श सम्झनका लागि हो
तर तिम्रो फोटो
तिम्रा आदर्शहरु बिर्सनलाई रहेछ
चिन्ता नगर लेनिन !
माक्र्सवादी मिडिया थ्यौरीमा
सपनाका सफल व्यापारीहरु
फोटो हेरेर चित्त बुझाउँछन्
तिम्रा आदर्शहरु बिर्सन
तिम्रै फोटोको सहयोग लिन्छन्

तिम्रै फोटो
माक्र्सवाद विरोधी भएको छ
तिम्रो फोटोको पनि फोटो खिच्ने
क्यामेरा समेत
लेनिनवाद विरोधी भएको छ
किनकि आधुनिक माक्र्सवादीहरुजस्तो
क्यामेराले विदेशी निर्देशनमा कुनै काम गर्दैन
ऊ बस्तु जस्तो छ
त्यस्तै फोटो उतारिदिन्छ
अनि, यी क्यामेराहरु नभएर
माक्र्सवाद विरोधी को हुन्छ ?

लेनिन तिमी सोच्न सक्छौ ?
माक्र्सवादी मिडिया थ्योरीले
तनको तस्वीर खिचेजस्तो
मनको खिच्न किन सकेन ?
किन अझै सम्मेलनहरुमा
तिम्रा तस्वीर झुण्ड्याइने ठाउँहरुमा
तस्वीर खिच्न बाँकी
अनएक्स्पोज्ड क्षणहरु
कुनै क्यामेराले उतार्न सकेन ?

खोइ कुन क्यामेराले खिच्यो ?
सोचाइहरु, भोगाइहरु
सीमा मिचाइ र त्यसका दुखाइहरु ?
खोइ कुन चित्र बन्यो ?
खोइ कुन प्रतिमा बन्यो ?
खोइ कुन दृश्य आयो ?
खोइ कुन फोटो देखियो ?
ती भित्ताहरुमा, ती ब्यानरहरुमा
ती पम्प्लेट र पोष्टरहरुमा ?
तर लेनिन ! तिनै डार्क रुमका
तस्वीरहरु लिएर आउँदैछन्
जनतावादी साइबार गुरिल्लाहरु
राष्ट्रवादी तस्वीर गुरिल्लाहरु

ऊबेलाका फोटाहरु सादा थिए लेनिन
अब रङ्गिन खिचिएका छन
फोटाका पनि फोटाहरु
जब तपार्इँ मान्छेको रङ्गिन फोटो खिच्नुहुन्छ
तब उनीहरुको केवल कपडा खिच्नुहुन्छ
जब तपार्इँ सादा फोटो खिच्नुहुन्छ
तपार्इँ उसको आत्मा खिच्नुहुन्छ ।
लेनिनका पनि आत्मा बिनाका कपडा र
कपडाका ताराहरु मात्र देखिएका छन्
तिम्रो तस्वीरमा

लेनिन ! तिमीले भन्यौ
माक्र्सवाद गतिको दर्शन हो,
तर, मेरो विज्ञान सत्य बोल्छ –
फोटो गतिको रोकावट हो
तिम्रो सबैभन्दा राम्रो
फोटो राख्नका लागि
होडबाजी गरिरहेकाहरुलाई भनिदेऊ न कृपया
सबैभन्दा राम्रो फोटो गति रोकिएपछि मात्र आउँछ
जब गति छोड्छ अनि फोटोको कुरा शुरु हुन्छ
अचेल गति सकियो, मति सकियो
र फोटाको ठुल्ठूला कुराहरु हुन थाल्यो ।

फोटोहरु सबै दुरुस्तै हुन्छन् तर ती सत्य हुँदैनन्
म फोटोलाई सत्य मान्दिनँ,
फोटाहरु वास्तविक हुन् तर सत्य होइनन्
ती उस्तै हुन् तर उनै होइनन्
फेसबुकले दिएको माक्र्सवाद
भित्ताको फोटोमा सीमित भयो
कि बृहत् भयो ?
लेनिनवाद मृत भयो कि जागृत भयो ?

कुनै सुन्दर फूलबारीमा
जतिसुकै एमेच्योर फोटोग्राफरले
फोटो खिचे पनि
सबै फूलहरुको तस्वीर सुन्दर हुन्छ ।
कसैको तस्वीर खिच्नु
उसको आत्मा उतार्नु हो
त्यसैले अनुमति लिनुपर्छ
लेनिनले तिम्रो आत्मा सित्तैमा बेचेर
आफ्नोपन गुमाएर/धर्म छोडेर
अरुका तस्वीर झुण्ड्याउने साम्राज्यवाद
स्वीकार गर भने कि भनेनन् कुन्नी ?
माक्र्सले मुखौटो मात्र देखाएर
बाँकी सबै नाटक मात्र गर
भने कि भनेनन् कुन्नी ?

लेनिन मलाई तिम्रो फोटो होइन
डार्क रुम हेर्न मन छ,
जहाँ सानो अँध्यारो कोठाभित्र
नेगेटिभ डेभलप हुन्छ

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्